आवेदन फारम

खाद्य बैंकले धान खेतीभित्र हाँस पालन परीक्षण गर्दै

  • Rastriya khadya bank
  • २०७८ साउन २१
खाद्य बैंकले धान खेतीभित्र हाँस पालन परीक्षण गर्दै

राष्ट्रिय खाद्य बैंकले बर्दिया जिल्लामा धान बालीमा हाँसपालन परीक्षण खेती शुरुवात गरेको छ । गुलरिया नगरपालिका वडा नं. ३, खैरी गाउँमा २५ विगाह जग्गा भाडामा लिई यस वर्षको धान बाली लगाई स्थानिय जातको हाँसपालन परिक्षणको रुपमा शुरु गरिएको हो । धानबालीमा हाँसपालन गर्दा धानलाई गोडमेल गर्न नपर्ने, किराहरु मार्न औषधी आवश्यकता नपर्ने, मलको पनि व्यवस्थापन हुने हुनाले यो विधि किसानको लागि प्रभावकारी हुने कुरा राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरराज उप्रेतीले बताउनुभयो ।

धान रोपेको २२ दिन पछि हाँसको बच्चालाई दिउसो धान बालीमा छोडिने गर्नाले हाँसले पानीमा पौडेर खेतको धानबालीमा उम्रेको झारहरु, किराहरु खाने भएकाले किसानले गोडमेल गर्न नपर्ने, धान लगाउन र धान स्याहार्न मात्रै पर्ने हुनाले धानबालीमा लाग्ने श्रमशक्ति र खर्चमा बचत हुने दावी उहाँको छ ।

यसको परिक्षण पछि बैंकले बर्दिया जिल्लामा ५ सय विगाह जग्गामा अन्नबाली तथा क्रमश तरकारी, तेलहन बाली लगाउने सोच रहेको बताउनुभयो । साथै धान फूल्न थालेपछि धानको बोट हल्लिदा उत्पादनमा ह्रास आउने हुँदाल हाँसलाई धानवालीबाट हटाई हाँसपालनका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय खाद्य बैंक २०७७ कार्तिक महिनामा स्थापना भएको हो । हाल यसका ५९० जना शेयर सदस्य रहेको २ अर्ब शेयर पुँजी भएको र २२ जिल्लामा विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । उक्त बैंकले कृषि उत्पादन, भण्डारण, वितरण, अनुसन्धान र स्थानिय रैथाने जातीका विउको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको स्वदेशी, स्वस्थ खाद्य बस्तुको उत्पादन प्रशोधन र वितरण गर्ने कार्यक्रम रहेको छ ।

बर्दिया जिल्लामा हाल स्थानिय जातको बासमति जातको धान शुरु गरेको छ । बैक सन्चालनका लागि ७ जनाको सन्चालक समिति, ५ जनाको सल्लाहकार समिति र २१ जना विषयगत विज्ञ समुह रहेको कुरा सो बैंकका निर्देशक प्रा.डा. जिवनाथ धितालले बताउनु भयो ।

यस अघि बर्दिया जिल्लाको बारबर्दिया न.पा. वडा नं. २, ४, ५ र ६ मा थारु महिला उत्थान केन्द्र नामक संस्थाले जलबायु मैत्री जिविकोपार्जन र स्थानिय सुशासन परियोजना अन्तर्गत गत ३ वर्षदेखी १ सय पचास जना किसानको करिव ५ सय हेक्टर जग्गामा डग फार्मिङ्ग अर्थात धान बालीमा हाँस पालन खेती गरिरहेको छ, यस प्रविधिबाट किसानहरुको उत्पादन बढेको, धान बालीमा लागत घटेको र बातावरण मैत्री भएको कुरा सो संस्थाका कार्यक्रम व्यवस्थापक तेजमणि पन्तले बताउनुभयो ।

धानबालीमा भएको झार हाँसले खाईदिदा झार सडेर हुने मिथेन ग्यासको कमी आई वातावरण संरक्षणमा सहयोग पुग्ने, हाँसको दिसाले धानबालीलाई मल पर्याप्त पुग्ने हुँदा रासायनिक मल पनि छर्कन नपर्ने र हाँसको मासु विक्री गर्दा अतिरिक्त आम्दानी हुने पन्तले बताउनुभयो ।

सम्बन्धित पोस्टहरू