झापा । पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिष्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरुआत गरेको छ ।
झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।
कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ । शनिवार सयभन्दा बढी रोपाहार लगाएर परम्परागत रुपमै धुमधामका साथ रोपाइ गरेको थियो ।
स्थानीय १३ किसानको ५बिगाहा जमिन प्रतिबिगाहा वार्षिक रु ३५ हजारका दरले भाडामा लिइएको उनले जानकारी दिए । आगामी वर्षदेखि झापामै सयौ बिगाहामा बासमाती धानको खेती विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको विऊ रोपिएको छ ।
स्थानीय डिल्लीप्रसाद सेढाईंले कम्पनीलाई चार बिगाहा जग्गा भाडामा दिइको जानकारी दिए । बिगतमा आफुले उत्पादन गरेको धान समयमै बिक्री नहुने, विचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदूर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिँदा खुशी लागेको प्रतिक्रिया दिए ।
यस बर्ष कम्पनीले परम्परागत रुपमै खेती गरेको कारण खेत जोत्न, बीऊ उखेल्न र रोपाई गर्न स्थानीयबासीले नै रोजगारी पाएका छन् । अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले जनाएको छ ।
कृषिको उत्पादन, भण्डारण र विक्री वितरण आफैंले गर्ने नीति अनुरुप देशैभर धान खेती गर्ने यो पहिलो कम्पनी हो । जिल्लामा कूल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ । तीमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका विज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।
अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरुको यसप्रति खासै रुची नभएको उनको भनाइ छ । ‘पुराना र धनाढ्य किसानले मात्र बासमति धानको खेती गरिरहेका छन्’, उनले भने, ‘अरु धान पाक्दा यो धान पसाउन मात्र सुरु गर्छ । मगमग बासना धेरै आउने हुँदा किराहरु बढी लाग्ने र उत्पादकत्व घट्ने हुँदा व्यावसायिक किसानले यसको खेती गर्दैनन् ।’ रोपेको १२० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १५० दिनमा मात्र पाक्ने उनको भनाइ छ ।
थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमति धानको खेती हुने गरेको छ । तर, राष्ट्रिय खाद्य बैंकले जिल्लामा गरिरहेको बासमति धानको खेती बारे कृषिज्ञान केन्द्रमा कुनै पनि जानकारी नआएको बताए ।
दुई अर्बको पूँँजी रहेको खाद्यान्न बैंकका ७७ वटै जिल्लामा कार्यालय रहेको र मुलुकका ७५३ वटै स्थानीय तहमा कार्यक्षेत्र रहेको अध्यक्ष उप्रेतीले बताए ।
कृषि, माटो, बनस्पति, वातावरण, पर्यटन तथा जलस्रोत विज्ञहरु, कृषि प्राविधिक र कोरिया, जापान, चीनबाट कृषि तालिम लिएका अनुभव प्राप्त व्यक्तिहरुको संयुक्त लगानीमा यो बैंकको स्थापना गरिएको उनको दाबी छ ।
बैंकमा हालसम्म ५८७ जना प्रमोटर शेयर सदस्य रहेको र निकट भविष्यमै यसले एक हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ ।
झापा, मोरङ र सुनसरीका लागि नमूना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उनले बताए ।
उनका अनुसार फुड एण्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने र अग्र्यानिक कृषि उपजहरु उत्पादनमा लगाउने बैंकको मुख्य लक्ष्य रहेको छ । लाखौंलाई रोजगार दिने र परनिर्भरतालाई घटाएर मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने उनले बताए ।