झापा, साउन २५ गते । तपाई हामीलाई सुन्दै आश्चर्य लाग्न सक्छ । हाँसले पनि खेतमा काम गर्छ भन्ने सुन्नु भएको छैन होला । यस्तै अपत्यारिलो अनौठो लाग्ने काम हाँसले गरिरहेका छन् । झापाका एक किसानको खेतमा दैनिक धान गोड्न खेतालाको रुपमा हाँसलाई खेतमा जोड्ने गरेका छन् । जिल्लाको गौरादह नगरपालिका ७ का धनञ्जय चुडालको खेतमा हिजोआज आठ सय वटा स्थानीय जातका हाँसले धान गोड्दै आएका छन् ।
नेपालमा पहिलो पटक निजी क्षेत्रबाट स्थानपना भएको राष्ट्रिय खाद्यान्न बैंक लिमिटेडको लगानीमा परीक्षण स्वरुप धान खेतीमा हाँस छोड्न थालिएको हो । राष्ट्रिय खाद्यान्न बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार यो बर्ष हाम्रो परीक्षणको बर्ष पनि हो । नेपालमा पहिलो पटक जापानीज राइस डग फार्मिङ प्रविधिको प्रयोग गरेर धान खेतीमा लाग्ने रोग किरा नियन्त्रण गरी उत्पादकत्व वृद्धी गर्ने उदेश्यले खेतमा हाँसलाई धान गोड्ने खेतालाको रुपमा प्रयोग गरिएको हो । जसले गर्दा मानिसले धान गोडिरहनु पर्दैन । जापानमा सबैभन्दा बढी प्रयोग गरिन्छ । यसले अन्य अवस्थामा भन्दा २० प्रतिशत उत्पादन वृद्धी हुने जनाइएको छ ।
हरियो फिरेको धानखेत भरी सलह चरिरहेका हाँसले आफ्नो चारो खोज्ने खाने क्रममा धान खेतलाई गोड्ने गरेका छन् । यसरी धान खेतमा हाँसको चुच्चोले र खुट्टाले गराको माटो चलाउने गर्दछ । माटो निरन्तर चलाएपछि धानलाई गोडमेल पुगेर बढ्न आवश्यक मद्दत पुग्ने गर्दछ । हाँसले दैनिक धानखेतमा छोडिएका कारण अन्य झारपात समेत उम्रन पाउदैनन् । त्यस्तै धानको बोटमा लाग्ने किरा फट्याङ्ग्रा सबै खाने हुनाले हाँसलाई आहार पनि पुग्छ रोग नियन्त्रण हुन्छ अध्यक्ष उप्रेती जानकारी दिनुभयो । साधारण तया एक हेक्टर खेतमा दुई हजार हाँस छोड्न सकिने छ । एकातिर धानको उत्पादन बढ्छ अर्को तर्फ हाँस पालन समेत धान खेतमा सबैभन्दा राम्रो हुन्छ ।
धान रोपेको २२ देखि २५ दिनपछि मात्र धान खेतमा हाँस छोड्न मिल्छ । यसरी छोड्न सुरु गरिएका हाँस धानको प्रजाती अनुसार फूलखेल्नु अघिसम्म लगभग चार महिनासम्म छोड्न सकिन्छ । यो अवधिमा एउटा हाँसले ४ किलोसम्म मल दिन्छ । यो सबै खेतमा नै हुने भएकाले खेत मलिलो समेत हुन्छ । चार महिनासम्ममा हाँस बिक्री गर्न मिल्ने भएकाले यसबाट समेत राम्रो आम्दानी हुन्छ । यसले धान उत्पादनको लागनी समेत कम हुने गर्दछ ।
खाद्यान्न बैंकको लागनीमा गौरादह नगरपालिका ७ र २ वडामा गरि ११ जना किसानको ५० बिगाहा जमिन ठेक्कामा लिएर चार प्रकारका बास्मति धान खेती गरिएको छ । जस मध्ये तीन बिगाहा जमिनलाई जालीले घेरेर हाँस छोड्न थालिएको हो । यो परिक्षण सफल भएमा अर्को बर्ष ५० बिघा क्षेत्रफलमा नै हाँस छोड्ने योजना रहेको बताइएको छ ।
कार्यकारी अध्यक्ष उप्रेतीका अनुसार खाद्यान्न बैंकले नेपालका स्थानीय जातका बालीको संरक्षण गर्ने, नयाँ प्रविधि भित्र्याउने, खाद्य उत्पादन, भण्डारण, बजारीकरण गर्ने उदेश्यले स्थापना गरिएको हो । यो वर्षमात्र देशका हिमाल पाहाड र तराईका गरि २२ वटा जिल्लामा यस्तो कार्यक्रम सञ्चालनमा रहेको छ ।
तराईमा पुराना स्थानीय जात कालो नुनीयाँ, जसलाई जेठो धान पनि भनिन्छ । त्यस्तै वास्मति हाइब्रेड, टुडो कालो भएको (इन्द्रवली), रातो वास्मति लगाइएको छ । यस्तै पाहाडमा कोदो र फापर जातको खेती गर्न थालिएको छ । कुल ५ सय ९० जना सेयर सदस्य रहेको उक्त बैंकको दुई अरवको लागत पुँजी रहेको जनाइएको छ । कृषि उत्पादनको क्षेत्रमा मात्र आफ्नो लागनी रहने भएकाले यसलाई देशव्यापी अभियानको रुपमा अघि बढाउने लक्ष रहेको जनाइएको छ ।
खाद्यान्न बैंकको सेयर सदस्यहरु अधिकांश कृषि क्षेत्रका वैज्ञानिक, विशेषज्ञ, नार्कका बिज्ञ ब्यक्तीहरु, वातावरणविद्, कृषि सहकारीका सदस्य लगायतका रहेका छन् । यसरी सुरु गरिएको नयाँ प्रविधि प्रयोगले मुलुकबाट विस्थापित हुदै गएका किसानलाई पुन: खेती फर्काउने आशा राखिएको छ ।