आवेदन फारम

लोपोन्मुख बासमती धानको देशैभर व्यावसायिक खेती

  • Admin
  • २०७८ असार २४
लोपोन्मुख बासमती धानको देशैभर व्यावसायिक खेती

नेपालमा बासमती धान लोप हुँदै गइरहेको अवस्थामा यसको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय खाद्य बैंक कम्पनीले झापालगायत मुलुकका विभिन्न जिल्लामा बासमतीको व्यावसायिक खेती सुरु गरेको छ ।

झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष एक हजार १०० विगाहा जग्गा लिजमा लिएर कम्पनीले बासमती धानको विऊ रोप्न सुरु गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

कम्पनीले झापाको गौरादह नगरपालिका वडा २ र ७ मा ५० विगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती सुरु गरेको छ । शनिवार सयभन्दा बढी रोपाहार लगाएर परम्परागत रुपमै धुमधामका साथ रोपाइ गरेको थियो ।

स्थानीय १३ जना किसानको ५० विगाहा जमिन प्रतिबिगाहा वार्षिक रु. ३५ हजारका दरले भाडामा लिइएको कम्पनीका अध्यक्ष उप्रेतीले बताए । आउँदो वर्षदेखि झापामै सयौ बिगाहामा बासमाती धानको खेती विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिए ।

कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको विऊ रोपिएको छ ।

स्थानीय डिल्लीप्रसाद सेढाईंले कम्पनीलाई चार बिगाहा जग्गा लिजमा दिइको बताए । बिगतमा आफुले उत्पादन गरेको धान समयमै विक्री नहुने, विचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदूर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिँदा खुशी लागेको प्रतिक्रिया दिए ।

यस बर्ष कम्पनीले परम्परागत रुपमै खेती गरेको कारण खेत जोत्न, बीऊ उखेल्न र रोपाई गर्न स्थानीयबासीले नै रोजगारी पाएका छन् । अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले जनाएको छ ।

कृषिको उत्पादन, भण्डारण र विक्री वितरण आफैंले गर्ने नीति अनुरुप देशैभर धान खेती गर्ने यो पहिलो कम्पनी हो ।

 

झापामा कूल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ । जसमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जानकारी दिए । अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरुको यसप्रति खासै रुची नभएको उनको विश्लेषण छ ।

“पुराना र धनाढ्य किसानले मात्र बासमति धानको खेती गरिरहेका छन्”, उनले भने, “अरु धान पाक्दा यो धान पसाउन मात्र सुरु गर्छ । मगमग बासना धेरै आउने हुँदा किराहरु बढी लाग्ने र उत्पादकत्व घट्ने हुँदा व्यावसायिक किसानले यसको खेती गर्दैनन् ।” रोपेको १२० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १५० दिनमा मात्र पाक्ने उहाँको भनाई छ ।
थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमति धानको खेती हुने गरेको छ । तर, राष्ट्रिय खाद्य बैंकले झापामा गरिरहेको बासमति धानको खेती बारे कृषिज्ञान केन्द्रमा कुनै पनि जानकारी नआएको बताए ।

दुई अर्बको पूँँजी रहेको खाद्यान्न बैंकका ७७ वटै जिल्लामा कार्यालयहरु रहेको र मुलुकका ७५३ वटै स्थानीय तहमा कार्यक्षेत्र रहेको अध्यक्ष उप्रेतीे बताए ।
कृषि, माटो, बनस्पति, वातावरण, पर्यटन तथा जलस्रोत विज्ञहरु, कृषि प्राविधिक र कोरिया, जापान, चीनबाट कृषि तालिम लिएका अनुभव प्राप्त व्यक्तिहरुको संयुक्त लगानीमा यो बैंकको स्थापना गरिएको अध्यक्ष उप्रेतीको दाबी छ ।

बैंकमा हालसम्म ५८७ जना प्रमोटर शेयर सदस्य रहेको र निकट भविष्यमै यसले एक हजार शेयर सदस्य पुर्याउने लक्ष्य लिएको छ । झापा, मोरङ र सुनसरीका लागि पाइलट प्रोजेक्टको रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उनले बताए ।

उनका अनुसार फुड एण्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने, इको सिस्टमलाई बचाउँदै अग्र्यानिक कृषि उपजहरु उत्पादनमा लगाउने बैंकको मुख्य लक्ष्य रहेको छ । लाखौंलाई रोजगार दिने र परनिर्भरतालाई घटाएर मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने उनले बताए ।

सम्बन्धित पोस्टहरू