विगत लामो समयदेखि कृषि क्षेत्रको आधुनिकीरण तथा कृषि क्रान्ति कसरी गर्न सकिन्छ भन्दै कृषि क्षेत्रमा नै काम गरेको लामो अनुभव भएका शंकरनाथ उप्रेती कृषिलाई कसरी आधुनिक प्रणालीमा स्थापित गर्न सकिन्छ भन्ने विषयमा अनुभवी छन् । दोलखाका उप्रेतीको परिकल्पनामा सातै प्रदेशमा कृषिको पाइलट प्रोजेक्ट स्थापना गर्ने गरी राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । खाद्य बैंकको अध्यक्षसमेत रहेका उप्रेतीसँग केन्द्रबिन्दु डटकमका अनिस मिजारले गरेको कुराकानी ः
राष्ट्रिय खाद्य बैंक स्थापना गर्नुको उदेश्य क हो ?
समग्र मानिसहरुले बैंक भन्नाले पैसाको कारोबार गर्ने भन्ने मात्र बुझेका छन् । तर राष्ट्रिय खाद्य बैंकले रुपैयाँको कारोबार नभई कृषि सम्बन्धि सम्पूर्ण कार्य गर्नेछ । बैंकले कृषिमा किसानलाई आबद्ध गराई नेपालको माटो सुहाउँदो कृषि उत्पादन गर्नेछ ।
खाद्य बैंक एक फरक कन्सेप्टको बैंक हो, यसले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि, भण्डारण र बजारीकरण गर्नेछ । हामीले उपभोक्ताको चुल्होसम्म हामीले गरेका उत्पादन पुर्याउने छौं, सामुहिक लगानी तथा सहकार्यले हामीले यो बैंक खोलेका हौं ।
बैंकले अर्गानिक तथा प्राकृतिक खानेकुराहरुको उत्पादनमा जोड दिनेछ । त्यस्तै, यो बैंकले एउटा आधुनिक कृषि प्रणालीको लागि अभियानको रुपमा देशभरका खाली जग्गाहरुमा खेती गर्ने र उत्पादित वस्तुबाट अर्गानिक रुपमा खानेकुरा बनाउनेछ । अहिले नै अर्गानिक खानेकुरा उत्पादन त दिन सक्दैनौं, किनकी यति बेला माटो मरेको छ । त्यो मरेको माटोलाई बचाउँदै त्यसलाई समेत पोषणयुक्त खानेकुरा खुवाएर त्यही माटोबाट अर्गानिक खानेकुराहरु उत्पादन गर्ने गरी योजना बनाइको छ ।
यसरी उत्पादन पनि अर्गानिक उत्पादन गर्ने र उत्पादन गरेको वस्तुलाई सुरक्षित भण्डारण गर्ने भण्डारण गरीको वस्तुलाई प्याकेजीङ गर्ने, प्रशोधन गर्ने र बिक्रि वितरण समेतको काम खाद्य बैंकले नै गर्ने छ । भन्नुको अर्थ उत्पादन गरीएको वस्तुलाई उपभोक्ताको चुलासम्म सिधै प¥याउने काम राष्ट्रिय खाद्य बैंकले गर्दछ । जसले गर्दा उत्पादन गर्ने किसानलाई पनि राम्रो फाईदा हुन्छ र उपभोक्तालाई पनि सस्तोमा जाने र अहिले बिचमा पैसा खाने बिचौलियाको अन्त्य गर्दै नयाँ ढङगले अगाडि बढ्ने छ । आफै उत्पादन गर्ने,आफै भण्डारण गर्ने ,आफैं उपभोक्ता सामु पुर्याउने सबै काम गर्ने भएकाले नेपालको एतिहासमा कृषि क्रान्ति नौलो अभियान सहित कृषि क्रान्तिको सुरुवात खाद्य बैंकले गर्न उदेश्य रहेको छ ।
त्यस्तै, ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडले २ अर्बको लगानीमा कृषि उत्पादन र बजारीकरण गर्ने गरी देशको ७७ वटै जिल्ला र ७ वटै प्रदेशहरुमा उपस्थिति जनाउँदै कृषि क्षेत्रमा ठूलो लगानी गरेको छ । यसले रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएको छ ।
बैंकले खाद्य उत्पादन त गर्ने भयो विशेष गरी यसले के–के खाद्य वस्तु उत्पादन गर्छ ?
बैंकले विशेष गरी खाद्य बालीहरुः धान, गहुँ, कोदो, फापर, जौँ र मकैं उत्पादन गर्छ भने तरकारीमा सम्पूर्ण वस्तु तथा दही, दुध, चिया, जडिबुटी, कफि, गेडागुडी, तेल निक्लने बालीहरु, फलफूल, माछा, मासु लगायत नेपालीको भान्सामा पाक्ने जे जति कुराहरु सबै उत्पादन गर्ने योजना रहेको छ । यसरी उत्पादन गरेका वस्तुहरु अहिलेको मितिमा खान योग्य हुने गरी कम विषादी र निकट भविष्यमा १०० प्रतिशत विषादीमुक्त गराएर अर्गानिक बनाउने योजनाका साथ अगाडि बढेको छ । जसरी अहिले बजार चलिरहेको छ यो बजारभन्दा फरक ढङ्गमा खाद्य बैंक हिड्नेछ ।
त्यस्तै, यसले खाद्य उत्पादनको लागि अनुसन्धानको काम पनि गर्नेछ । यसमा स्थानीय बालिनालीहरु, रैथाने बिउबिजन, परम्परागत रुपमा चलिआएका खेति प्रणालीहरु लोप हुँदै गएको अवस्था छ । यसको अवस्था कस्तो अवस्था छ भनेर खोज अनुसन्धान गरी थोरै क्षेत्रमा धेरै उत्पादन कसरी गर्न सकिन्छ भनेर खोज गर्नेछ ।
कृषि क्रान्तिका नाममा यस्ता धेरै संस्था आए तर अहिलेसम्म कृषि क्षेत्रमा केही परिर्वतन भएको छैन । खाद्य बैंकको कृषि क्रान्ति ल्याउने योजनाहरु के–के छन् ?
हामीले सबैलाई विश्वास दिलाउनको लागि अहिले तीनवटा योजनाहरु सार्वजनिक गरेका छौं । पहिलो नेपालमा कृषि पेशालाई अपमानित गरिएको छ । यो पेशा नपढेको मानिसहरुले गर्ने र अन्य मानिसहरु कृषि पेशामा लाग्न घिनाउने भएकाले बैंकले कृषि पेशालाई मर्यादित र सम्मानित पेशा बनाउने तथा कृषिमा लागेका किसानलाई आत्मनिर्भर बनाउने योजना बनाएको छ ।
त्यस्तै, कृषि क्षेत्रमा नै रोजगारीको व्यापक सिर्जना योजना रहेको छ । यसमार्फत ७७ जिल्लामा कृषिका गतिविधि सञ्चालन गर्नाले कृषि उत्पादनमा लाग्नेदेखि विशेषज्ञसम्म लाखौं मानिसहरुलाई रोजगारी दिनेछ । बैंकले खाद्य वस्तुबाट बन्ने खानाको विषयमा जानकारी दिने, खाद्य वस्तुहरु कसरी खानयोग्य बनाउने भन्ने विषयमा तथा पोषणको विषयमा समेत डाक्टरहरुको टिमले जानकारी दिनेछन् ।
यसरी बैंकले कृषि र टुरिजमलाई लगेर जोड्ने काम पनि गर्नेछ । जस्तो कि इजरायल जस्तो मरुभूमि देशले त नेपालीहरु कृषि पढ्नको लागि जाने वातावरण बनाएको छ भने भोली नेपालमा पनि कृषिका क्षेत्रले फड्को मार्यो भने विश्वभरका मानिसहरु कृषि विषयमा पढ्न आउन सक्ने गरी यहाँको हावा पानीदेखि राम्रो वातावरण बनाउन कृषि र टुरिजम जोड्ने गरी गतिविधि बढाएर कृषिमा आत्मनिर्भर बनाउने योजना बनाएको छ ।
नेपाल कृषिप्रधान देश भइकन पनि ६५ प्रतिशत मात्र नागरिक कृषि पेशालाई अवलम्बन गरिरहेका छन् । वार्षिक रुपमा ५६ अर्ब रुपैयाँको चामल मात्रै आयात हुनु हाम्रो लागि ठूलो विडम्बना हो । नेपालले इन्डोनेसियाबाट बेसार, अष्टेलियाबाट दाल, अमेरिकाबाट भटमास लगायत विभिन्न देशबाट अरबौं रुपैयाँको खानेकुरा भित्र्याउँछ, तर नेपाल आफैंले उत्पादन गर्दैन । यसरी बार्षिक रुपमा बाहिरीने अरबौं रुपैयाँ देशभित्र नै रोक्ने गरी काम गर्ने योजना हामीले बनाएका हौं ।
बैंकले देशभर जुन ठाँउमा जे फल्छ, त्यही ठाउँमा त्यही उत्पादन गर्छ । त्यसरी भएको उत्पादन वस्तु त्यही स्थानीय बजारमा बेच्छौं, सबै त्यहीँ उपभोग नभए ठूलो बजारमा लगेर बेच्छौं । यसरी उत्पादन बढ्दै गएको खण्डमा काठमाडौँ उपत्यकालगायत विदेशमा समेत बेच्ने योजना बनाएका छौं । जसले गर्दा बैंकले बेचेको पैसाबाट देशले आम्दानी पनि गर्ने भयो र बाहिर जाने पैसा मुलुकमा नै बस्नाले देश धनी बनाउने योजना हो । यसरी नेपाल सरकारले परिकल्पना गरेको सम्बृद्ध नेपाल सुखी नेपाली नारा सरकारले लगाए पनि साकार भने खाद्य बैंकले बनाउनेछ ।
कृषि क्षेत्रलाई माथि उठाउनको लागि ठूला बैंकदेखि धेरै साना कृषि सहकारी समेत स्थापना भएका छन् । तर कृषिका नारा फेरीएका छैनन् । यो पनि त्यस्तै गरी सेलाउने त होइन ?
हो, यसरी कृषि क्रान्तिको लागि भन्दै धेरै संस्थाहरु स्थापना भए । कृषि बैंक नै स्थापना भएको धेरै वर्ष भयो । तर उनीहरुले पैसा लिन्छन् पैसा बेच्छन र पैसा नै कमाउछन् । तर यो राष्ट्रिय खाद्य बैंकले पैसा लिएर पैसा बेच्दैन । यसले अन्न बालीहरु उत्पादन गरेर बेच्छ । कृषि विकास बैंक पहिला स्थापना कालमा जुन उदेश्यले स्थापना भएको थियो, त्यो उदेश्यभन्दा फरक अन्य बैंकहरुसँग नै गएर जोडियो । अहिले पनि कृषिमा लगानी गर्दा अन्य बैंकको भन्दा अझ महंगो ब्याज कृषि बैंककै छ ।
यही बैंकको लोनले गर्दा कति किसानहरुको घरबार उठेको छ । तर यो बैंकले किसानको घरबार उठ्ने गरी होइन घरबार जोडिने गरी काम गर्नेछ । यो बैंकले उत्पादनको काममा जनतालाई सरिक गराउँछ । उत्पादन भएका वस्तुहरु बेचेर उपभोक्तालाई सहुलियत मुल्यमा अर्गानिक खाना खुवाउने लक्ष्य बैंकको हो । त्यसैले यो सेलाउने होइन किसानलाई खुसी बनाएर यसले नागरिकलाई निरोगी बनाउँछ ।
वस्तुको उत्पादन, भण्डारण र बजारीकरण सबै आफैं गर्ने बैंकको किसानलाई फाइदा के ?
बैंकले यी काम गरे पनि यो सबै काममा किसानलाई पनि सरिक बनाउने काम गर्दछ । देशका सातै प्रदेशमा पाइलट प्रोजेटको रुपमा यसलाई स्थापना गर्दछ । प्रोजेक्ट स्थापना भएको ठाउँहरुमा विज्ञहरुले माटो परिक्षण गर्छन् ।
कुन खेती हुन्छ त्यहाँ त्यही खेती लगाउन सबै किसान र संस्थाहरुलाई सहभागी गराएर खेतीका लागि बिउबिजन, प्राङगारिक मल बनाउन सिकाउँछौं । उत्पादन गरेको वस्तु किन्ने ग्यारेन्टी, प्राविधिकहरुले फल नपाकुन्जेलसम्म रेखदेख गर्ने काम पनि बैंकले गर्दछ ।
त्यसैले किसानले आफ्नो श्रम मात्रै गरे हुने हुदाँ उनीहरुलाई बढी नै फाइदा हुन्छ । किसानले नै उत्पादन गरेको वस्तुको राम्रो मूल्य पाउनु हुन्छ । बैंकले बढीभन्दा बढी किसानकै फाइदाको लागि काम गर्ने हुँदा दुवैलाई राम्रो बनाएर जाने योजना हाम्रो हो ।
राष्ट्रिय खाद्य बैंकले उत्पादन गरेको पोसिलो र अर्गानिक खानाको अब उपभोक्ताले कहिलेदेखि पाउँछन् ?
अब नेपाली जनताले यो बैंकले उत्पादन गरेको अर्गानिक वस्तु चाँडै पाउनेछन् । बैंक स्थापना भएको करिब तीन चार महिना मात्र भयो ।
अब चाँडै केन्द्रिय कार्यालयको स्थापना गरी सातै प्रदेशमा पनि शाखा सञ्चालनमा ल्याएर उत्पादन गर्न सुरु गर्नेछौं । अहिले पनि करिब १७ जिल्लाभन्दा बढीमा खाली जग्गा भाडामा लिएर उत्पादनको गतिविधिहरु अगाडि बढाएको छ । हालसम्म बैंकले कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही, कास्की, रौतहट, बारा, लमजुङ, पर्सालगायतका जिल्लाहरूमा जग्गा लिजमा लिइ उत्पादन कार्य शुरु अघि बढाइसकेको छ ।
सरकारको केही सहयोग छ कि व्यक्तिहरु मिलेर अगाडि बढ्नु भएको छ ?
अहिलेसम्म सरकारको कुनै पनि सहयोग छैन । सरकारबाहेक कुनै पनि संस्था तथा एनजीओ, आइएनजिओले पनि सहयोग र सहकार्य गरेका छैनन् । अहिलेसम्म कृषि क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिहरु मिलेर यहाँसम्म पुगेका छौं । बैंकमा २ सय ४९ जना मात्रै शेयरधनी छन् । यसको कुल पूँजी भने २ अर्ब रुपैयाँ रहेको छ ।
सहकार्य गर्दा को–कोसँग गर्नुहुन्छ ?
बैंकले देशभरको किसान, कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको छ ।
खाद्य बैंकमा लगानी गर्न चाहने एउटा समान्य किसान वा कुनै व्यक्तिले खाद्य बैंकमा लगानी कसरी गर्न सक्छन् ?
बैंकको शेयर किन्ने आफ्नै नियम छ । एउटा पब्लिक कम्पनी लिमिटेडको नियमअनुसार शेयर खरिद बिक्री गर्नुपर्छ । त्यसको फाराम भर्नुपर्यो । हामीले न्यूनतम १ हजार कित्तासम्म सेयर लिनुपर्ने मापदण्ड बनाएका छौं । त्यो भनेको एक लाख रुपैयाँ हो । तपाईंले सामान्य किसानले एक लाख रुपैयाँको शेयर किन्न सक्छ त भन्ने प्रश्न गर्नुहुन्छ होला । तर, त्यो रकम तिर्न नसक्नेहरुका लागि पनि हामीले छुट्टै किसिमको व्यवस्था गरेका छौं । पैसा नहुने तर सहभागी हुन चाहनेहरु खेती प्रणालीमा पनि जोडिन सक्नुहुन्छ ।
खेती प्रणालीमा जोडिनको लागि अहिले १० हजार छ अर्को वर्ष फेरि १० हजारको शेयर पनि हाल्न सक्नुहुन्छ । जब १ लाख रुपैयाँ पुग्छ त्यसपछि हामी उहाँलाई शेयर प्रवद्र्धकको रुपमा इस्यु गर्छौं । हाम्रो योजना भनेको सबै खालका मानिसलाई यसमा सहभागी गराउने हो ।
लगानीकर्ताले एक वर्षमा त प्रतिफल खोज्छ । कसरी दिनुहुन्छ ?
लगानीकर्ताले प्रतिफल खोज्नु स्वभाविकै हो । तर, हामीले साथीहरुलाई के भनेको छौं भने कृषिमा लगानी गरेर एकै वर्षमा प्रतिफल पाउन अलि सजिलो छैन । किनभने हामी परिकल्पनाको पहिलो फेजमा छौं । अहिले जग्गा जमिनदेखि लिएर सबै चिज तयारी गरेर जानुपर्ने अवस्था रहेकाले आउँदो वर्ष नै दिन सकिँदैन । बरु दोस्रो वर्षबाट नियमित रुपमा लगानीकर्ताहरुलाई प्रतिफल दिन्छौं ।
आइपीओ नै जारी गर्ने तपाईंहरुको तयारी हो ?
बैंकले देशभर उत्पादनका विभिन्न कार्य शुरु गरिसकेको छ र हालसम्म यसका ४ सय ९१ जना प्रमोटर सदस्य रहेका छन् । जसले गर्दा सरकारको नियमानुसार रहेर आईपीओ जारी गर्ने तयारीमा छौं ।
त्यसका लागि सयम लाग्न सक्छ । तर अझै विस्तार गर्दै केही वर्षभित्रै साधारण शेयर (आइपीओ) जारी गर्छाैं ।