आवेदन फारम

राष्ट्रिय खाद्य बैङ्कद्वारा गौरादहमा कृषि परियोजना स्थल उद्घाटन

  • Admin
  • २०७८ ब‌ैशाख ११
राष्ट्रिय खाद्य बैङ्कद्वारा गौरादहमा कृषि परियोजना स्थल उद्घाटन

झापा। झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैङ्क लिमिटेडले आफ्नो दोस्रो कृषि परियोजना उद्घाटन गरेको छ। यश अघि बैङ्कले बर्दियामा आफ्नो पहिलो परियोजनाको उद्घाटन गरी उत्पादन सुरु गरिसकेको छ। बैङ्कले गौरादह नगरपालिकाको वडा न ७ ठकठकेमा शुक्रवार एक औपचारिक  कार्यक्रमबिच परियोजना स्थल शुभारम्भ गरेको हो।

गौरादह नगरपालिका वडा नं ७ मा बैङ्कले लिजमा लिएको ३५ बिगाहा जमिनमा कृषि परियोजनाको उद्घाटन गरेको हो। स्थानीय अगुवा किसान डिल्ली प्रसाद सेढाँइको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख रोहित कुमार शाह, विशेष अतिथि नगर उप प्रमुख  गीता भेटवाल, बैङ्कका प्रमुख कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती, धान वाली विज्ञ डा. भोलामान सिंह बस्नेत, माटो विज्ञ डा. चन्द्र प्रसाद पोखरेल, बैङ्कका सञ्चालक ईश्वर लुइँटेल, गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष हेमन्त कार्की, स्थानीय पत्रकारहरू लगायत जग्गादाता र स्थानीयहरूको समुपस्थितमा बैङ्कले परियोजना स्थल शुभारम्भ गरेको हो। कार्यक्रममा कृषि परियोजना स्थलको उद्घाटन गर्दै गौरादह नगरपालिकाका नगरप्रमुख रोहित कुमार शाहले राष्ट्रिय खाद्य बैकलाई मनैदेखि स्वागत गरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले आफू पनि एक किसान भएको र किसानका अनगिन्ती समस्या हुने भएकाले देशमा व्यावसायिक प्रकृतिको कृषिको आवश्यकता रहेको बताए। सम्बोधनकै क्रममा उनले कृषि क्षेत्रमा विगतका बर्सहरूमा अनुदानको विकृति फैलिएकोले त्यसो नगरी असली रूपमा कृषि क्रान्तिमा लाग्न सुझाव समेत दिएका थिए।

खाद्य बैङ्कले कृषि क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरू समेटेको हुनाले बैङ्कले कृषिमा राम्रो प्रगति गर्न सक्ने बताउँदै स्थानीय  सरकारले सम्भव भएका सबै किसिमका सहयोग र सहकार्य गर्न आफूहरू तयार रहेको बताए।

कार्यक्रम लाई सम्बोधन गर्दै नगर उप- प्रमुख गीता भेटवालले किसानहरू विगतमा हेपिने पिल्सने गरेको बताउँदै यस्तो अवस्थाको अन्त्य गर्न खाद्य बैङ्कको भूमिका महत्त्वपूर्ण हुने बताइन।

कार्यक्रमलाई सम्बोधनकै क्रममा उनले कृषि नै आर्थिक विकास र समुन्नतिको आधारशिला भएकोले सबैले आधुनिक कृषि प्रणालीमा  जोड दिनुपर्ने  बताइन्।

कार्यक्रममा राष्ट्रिय खाद्य बैङ्कका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले दोस्रो परियोजनाको रूपमा झापाको गौरादहमा परियोजना सुरु गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।

उनले परियोजना स्थलको ३५ बिगाहा जमिनमा पहिलो लोकल बासमती लगायतका स्थानीय प्रजातिका धान वाली हरू लगाउन आवश्यक मल, बिउ तथा बिजन समेत तयार गरिसकिएको बताए।

गौरादहमा बैङ्कले परियोजना सुरु गर्दा धेरै किसानहरू हर्षित भएकोले आफूलाई पनि त्यसले उत्साह मिलेको बताए। उनले भने ‘किसानहरूसँगै मिलेर उन्नत जातका धान वाली हरू लगाउने, कृषि उत्पादनलाई अर्ग्यानिक बनाउँदै लैजाने र कृषिमा देशलाई आत्मनिर्भर बनाउने हाम्रो जोड रहेको छ।’

‘पोसिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापना भएको बैङ्कले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्य लिएको बताए।

दुई अर्ब लगानीमा स्थापना गरिएको बैङ्कमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य रहेकोले प्रमोटरको सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भएको साथै बैङ्कले आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन्।

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैङ्कमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै  किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए।

बैङ्कले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम सुरु गर्ने तयारी गरेको र हाल कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही सहित १३ जिल्लामा जग्गा लिएर उत्पादन सुरु गरिसकेकोले हाल झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ।

 

Source:

सम्बन्धित पोस्टहरू