आवेदन फारम

धानबाट राष्ट्रिय खाद्य बैंकको लगानी सुरू

  • Admin
  • २०७८ ब‌ैशाख २८
धानबाट राष्ट्रिय खाद्य बैंकको लगानी सुरू

कृषि उपजको उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले राष्ट्रिय खाद्य बैंकले प्रदेश–१ को झापामा ‘कृषि परियोजना’ सुरू गरेको छ । कृषि पेशालाई सम्मानित बनाएर उत्पादन बढाउने उद्देश्यले झापाको गौरादह नगरपालिका –२ र ७ नम्बर वडामा परियोजना सुरू भएको हो । परियोजना सञ्चालनका लागि बैंकले सुरुवाती चरणमा गौरादहमा ३५ विगाह जमिन भाडामा लिएको छ । थप १५ विगाह बढी जमिन प्रक्रियाको चरणमा छ ।

बैंकले सो जमिनमा यही वर्षदेखि धान खेती गर्ने जनाएको छ । ‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ झापामा प्रदेशकै पहिलो परियोजना सुरू गरिएको राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । “पहिलो चरणमा हामी प्रदेश –१को झापा, मोरङ र सुनसरीमा धान खेतीमा लगानी गर्दै छौँ” उप्रेतीले भने, “पहाडी जिल्ला इलाम र पाँचथरमा चिया, मकै, गहुँलगायतका बालीमा लगानी गर्ने योजना बनाएका छौँ ।” प्रदेश–१ भरीको उत्पादन र बजारीकरणका लागि इटहरीमा सम्पर्क कार्यालय स्थापना हुने बैंकले जनाएको छ ।

भाडा लिएको जमिनमा सोही क्षेत्रका नागरिकलाई रोजगारी दिइने अध्यक्ष उप्रेतीले बताए । राष्ट्रिय खाद्य बैंक केही वर्षपछि नेपालमै सबै भन्दा धेरै नागरिकलाई रोजगारी दिने निजी क्षेत्र हुने उप्रेतीको दाबी छ । किसानहरुलाई खाद्यन्न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्थासमेत कम्पनीले गरिदिने र किसानको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने जनाइएको छ ।
बैंकलाई जमिन भाडामा दिएका गौरादहका धन्नजय चुँडाल खाद्य बैंकले कृषिलाई औद्योगिकरणमा लानेमा विश्वस्त छन् । “कृषकसँग दक्ष कृषि विज्ञ नहुँदा साथै उत्पादित कृषि उपजको बजारिकरण गर्न नसक्दा वर्षेनी जमिन बाँझो हुने अवस्थामा पुग्न लागेको थियो” चँुडालले भने, “अब खेतीयोग्य जमिनलाई प्लटिङ गरेर छाड्नु नपर्ने भयो ।” “हामीले ५ वर्षको सम्झौता गरेर बैंकलाई जमिन उपलब्ध गराएका छौँ, ५ वर्षमा पक्कै केही प्रतिफल हात पर्ला” चुडाँल भन्छन् ।
गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह स्थानीय निकायले गर्नसक्ने सबैखाले सहयोग बैंकलाई उपलब्ध गराउने बताउँछन् । “राष्ट्रिय खाद्य बैंकले प्रदेश–१मा पहिलोपटक गौरादहमा परियोजना सञ्चालनमा ल्याएको छ, यसलाई सफल बनाउन नगरपालिकाले पनि पहल गर्ने छ” नगरप्रमुख साह भन्छन् ।

के भन्छन् विज्ञ ?

कम्पनीले कृषि तथा माटो वैज्ञानिकको समूह बनाएर सोही समूहमार्फत् उत्पादन बढाउनका लागि अध्ययन अनुसन्धान सुरू गरेको छ । झापामा मुलुककै सबैभन्दा धेरै धान उत्पादन हुने भएकाले बैंकले झापामा गरेको लगानी सुरक्षित हुने धान बाली विज्ञ भोलामान सिंह बस्नेत बताउँछन् । परियोजनाले चैते धानलाई प्राथमिकतामा राख्नु पर्ने उनको सुझाव छ । “चैते धान खाद्य सुरक्षाका लागि बरदान हो” विज्ञ सिंहले भने, “धान फूल फुलेपछि जतिधेरै घाम लाग्यो, त्यति धेरै उत्पादनको मात्रा बढ्छ, चैते धानले फूल फुलेपछि ६ सय क्यालोरी घामको मात्रा पाउँछ, त्यो क्यालोरी बर्खो धानले ५ सय मात्र पाउँछ, त्यसैले वर्खे धानको तुलनामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर २० देखि २५ प्रतिशत बढी हुन्छ ।” “घाम बिनापैसाको प्रविधि हो, यो सबैले बुझ्न आवश्यक छ” बस्नेत भन्छन् ।
“झापामा पहाडका २२ जिल्ला बराबर धान उत्पादन हुन्छ, त्यसैले झापामा धानमा लगानी गर्न आवश्यक छ” विज्ञ बस्नेतले बताए । नेपाल धानमा आत्मनिर्भर हुनका लागि करिब १० लाख टन धान अपुग रहेको छ । त्यसैले २ हेक्टर चैते धान उत्पादन भएमा देश आत्मनिर्भर हुन्छ । चैते धानको उत्पादन हुने समयमा कृषकलाई डायर मेसिन उपलब्ध गराउन आवश्यक रहेको बस्नेतको भनाइ छ । अहिलेको तथ्यांक हेर्ने हो भने प्रत्येक महिना नेपालमा अढाई करोड रुपैयाँ बराबरको चामल आयत हुन्छ । त्यसको ९० प्रतिशत चामल भारतबाट आउँछ । त्यसैले देश आत्मनिर्भर हुनकै लागि धान खेतीमा लगानी बढाउनु पर्ने विज्ञ बस्नते बताउँछन् ।
दीर्घकालीन रुपमा कसरी खेती गर्न सकिन्छ भनेर तीन तहको माटो परीक्षणका लागि लगिएको माटो बाली विज्ञ चन्द्र पोखरेलले बताए । “पानी, माटो हावा सबै कुराको अवस्थालाई मध्यनजर गरेर खेती गर्नुपर्छ, हामी जमिनमा ढुङ्गा माटोको अवस्था, धानलाई आवश्यक पर्ने जैविक तत्वको मात्रालाई परीक्षण गछौँ” पोखरेलले भने ।

के गर्छ बैंकले

बैंकले अर्गानिक उत्पादनलाई पहिलो प्राथमिकता दिने जनाएको छ । कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँअनुसारको बाली उत्पादनमा गर्ने प्रोत्साहन गर्ने पनि बैंकले जनाएको छ । किसानहरुलाई खाद्यन्न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्थासमेत कम्पनीले गरिदिने र किसानको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने जनाइएको छ ।
राष्ट्रिय बैंकमार्फत् कृषि क्षेत्रमा लागे बिचौलिया अन्त्य हुने सञ्चालक इश्वर लुर्इँटेलको दाबी छ । “हामी कृषकलाई गाडी चढेर हिँड्ने अवस्थामा पु(याउँछौँ” लुईँटेलले भने, “उत्पादनका लागि पहिलो प्राथमिकता स्थानीय बीउ विजनलाई नै दिने छौँ ।” यसबाट किसानहरुले उत्पादन गरेको बालीहरु बैंकमा बिक्री गर्न सक्ने तथा बैंकले उत्पादन भण्डारण प्रशोधन गरी सिधै उपभोक्तासँग बिक्री वितरण गर्ने बताए । बैंकले पहिलो प्राथमिकता अन्नबाली र दोस्रो चरणमा माछा, मासु, फलफूल, दूध, तरकारीको उत्पादनलाई दिने बताइएको छ । उत्पादनमा लागेका कृषकहरुलाई आवश्यक पर्ने बिउ, मल, कृषि औजारहरु, प्राविधिक ज्ञान दिने बैंकले जनाएको छ । बैंकले यस अघि बर्दियाको गुलरीया नगरपालिकामा २ सय विगाहमा धान खेती परियोजना सुरू गरिसकेको बैंकका लुँईटेलले जानकारी दिए ।

 

Source:

सम्बन्धित पोस्टहरू