आवेदन फारम

राष्ट्रिय खाद्य बैंकले निजीक्षेत्रबाट सबैभन्दा बढी रोजगारी दिनेछ

  • Admin
  • २०७८ असार ११
राष्ट्रिय खाद्य बैंकले निजीक्षेत्रबाट सबैभन्दा बढी रोजगारी दिनेछ

कृषिउपज उत्पादन, संकलन, भण्डारण र बिक्रि वितरण गर्ने उद्धेश्यले बैंक मोडलमा राष्ट्रिय खाद्य बैंकको स्थापना भएको छ । यसको मूख्यतया अग्र्यानिक कृषि उपज उत्पादन गर्ने र परनिर्भरता घटाउँदै आत्मनिर्भर बन्ने बैंकको योजना छ ।  अर्कोतर्फ किसानले बजार मूल्य नपाएको र बिचौलियाका कारण किसानले सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले त्यही कृषिउपज महंगो किन्नुपर्ने बाध्यता छ । त्यसखालको बिचौलिया वा मध्यस्थकर्ताको अन्त्य गर्ने राष्ट्रिय खाद्य बैंकको मूख्य उद्धेश्य छ । निजीक्षेत्रबाट पहिलो पटक उदाएको खाद्य बैंक २ अर्ब पूँजीबाट सुरु भएको छ । यसै सन्दर्भमा खाद्य बैंक के हो ? यसले कृषि उत्पादन र उत्पादकत्व बढाई मुलुकको अर्थतन्त्रमा कसरी भूमिका खेल्न सक्छ? र खाद्य बैंकको आगामी योजना के–के छन लगायतका समसामयिक बिषयमा कृषिपानाले बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीसँग कुराकानी गरेको छौं । प्रस्तुत छ, उनीसँग गरिएको अन्तर्वाताको सम्पादित अंश ।

राष्ट्रिय खाद्य बैंक के हो ? यसको आवश्यकता र औचित्ययता किन हुन गयो ?

हाम्रो मुलुक हरेक कुरामा यति धेरै परनिर्भर भइसक्यो कि कृषिउपज सबै कुरा बाहिरबाट ल्याएर खानुपर्छ । तथ्यांक हेर्ने हो भने पनि वार्षिक २ अर्ब भन्दा बढी कृषिउपजहरु हामीले बाहिरी मुलुकबाट नै ल्याउँछौं ।  यसले हामीसँग पैसा भएर पनि खान नपाउने स्थिति सिर्जना हुँदै गयो । किनकी, हामीले अरु देशमै बढी आश्रित हुँदै गयो । आफुले उत्पादन गर्न छाड्यौं ।  अहिले कोभिडविरुद्ध खोप खरिद गर्दा हामीले ८० प्रतिशत रकम बुझाउँदा पनि खोप पाएनौं । पछि, त्यसै गरी नै महामारीका कारण भोकमरी लाग्न थाल्यो भने पनि अवस्था त्यस्तै आउने देखिन्छ । 

त्यसलाई दृष्टिगत गर्दै हामीले आफ्नै देशमा आफ्नै उत्पादन गरेर आत्मनिर्भर हुने गरी अघि बढ्नुपर्छ भन्ने सोच बनायौं । जति पनि खाद्य वस्तु र कृषिउपजहरु हामीले नै उत्पादन गरी आत्मनिर्भर हुनुपर्छ भन्ने उद्धेश्यका साथ राष्ट्रिय खाद्य बैंकको आवश्यकता महशुस भयो र, स्थापना गर्यौ । 

नेपाल सरकारले कृषिमा दिएका सहयोग तथा अनुदान, यहाँ भएका काम र गतिविधिहरु सबै कुरा हेर्दा हामीले पनि देशव्यापी रुपमा एउटा संगठनात्मक संरचना बनाउने योजना बनायौं । यसले उत्पादनको काम पनि आफैं गरोस, उत्पादित वस्तुको भण्डार र विक्रि वितरण पनि आफैं गरोस भन्ने उद्धेश्यले खाद्य बैंकको स्थापना भएको हो ।

हामीले देशलाई धनी बनाउन, जनतालाई बाँच्ने अवस्था सिर्जना गर्न र आफैँमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने बैंकको मुख्य आवश्यकता हो ।

कृषि उत्पादन र उत्पादकत्व बढाई आत्मनिर्भर बनाउने उद्धेश्य बनाइरहँदा त्यसका लागि के–कस्ता कार्यक्रम र योजनाहरु बनाउनुभएको छ ?

हामीले कृषि उत्पादन र उत्पादकत्व बढाउन अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेका छौं । हाम्रो संगठनात्मक संरचनामा खासगरी सवैभन्दा माथि विषयगत विज्ञहरु हुनुहुन्छ । त्यसभन्दा तल रामपुर विश्वविद्यालय, टकलिहवा कलेज लगायत कृषि क्याम्पसबाट पढ्नुभएका २०० भन्दा बढी प्राविधिक युवा जनशक्ति आवद्ध हुनुहुन्छ । उहाँहरु फिल्डमा खटेर काम गर्छौं भनेर लाग्ने युवा प्राविधिकहरु हुनुहुन्छ ।

त्यस्तैगरी, इजरायल, कोरिया, जापान, चीन लगायतका देशमा गएर कृषिक्षेत्रको प्रविधि देखेर, पढेर र भोगेर आउनुभएका विज्ञ तथा प्राविधिकहरु पनि हुनुहुन्छ । उहाँहरु पनि कृषि उत्पादन वृद्धि गर्ने काममा नेतृत्व गरिरहनुभएको छ ।

त्यस्तै चार्टड एकाउन्टेन गर्नुभएका प्रमुख कार्यकारी अधिकृत(सीईओ) साबहरुले अर्थ विभागको जिम्मेवारी उहाँहरुले हेरिरहनुभएको छ । प्रोसेसरहरुले आइटीमा काम गनुृभएको छ । कानुनमा लामो समय काम गर्नुभएको टीमले कानुनका कुरामा नेतृत्व गरिरहेको छ । यसैगरी नै विषयगत ज्ञान भएका व्यक्तिहरु भएको र नयाँ पक्ष भनेको हामी उत्पादन पनि गर्छौ, भण्डारण पनि आफैँ गर्छौं र, बिक्रि वितरण पनि हामी आफैं गर्छौ । जसले गर्दा यसमा कुनै बिचौलिया वा मध्यस्थकर्ताको सहयोगी भूमिका कसैले गर्नुपर्दैन । 

हामीले आगामी दश वर्षभित्र कृषिउपजमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने योजनाका साथ अघि बढिरहेका छौं ।

राष्ट्रिय खाद्य बैंकले कृषिका कुन कुन सेक्टरमा लगानी गरेको छ ? हालसम्म कति लगानी गर्यो ?

हामीले २ अर्ब रुपैयाँ पूँजी लगानी गर्ने गरी कम्पनी रजिस्टार कार्यालयबाट स्वीकृत प्राप्त गरेर कृषि मन्त्रालयको मातहतमा रहने गरी राष्ट्रिय खाद्य बैंकको स्थापना गयौं । र, हामी राष्ट्र बैंकमा जानु पर्दैन । निक्षेप संकलन गर्नु पर्दैन र, चेक साट्ने काम पनि गर्दैनौं । तर, राष्ट्रिय खाद्य बैंक भोली सर्वसाधरणलाई सेयर दिने गरी(आइपीओं)मा जान्छ । केन्द्रीय स्तरमा नयाँ बानेश्वरमा कार्यालय छ भने सात ओटै प्रदेशमा यसको कार्यालय छ । र, ७७ ओटै जिल्लामा सम्पर्क कार्यालय बनाउँदैछौं । ७५३ ओटा स्थानीय तह जहाँ जहाँ हामीले कृषिउपज उत्पादन गर्छौ, त्यहाँ त्यहाँ हाम्रा उपशाखा रहन्छन् । त्यसअनुसार नै हामीले लगानी पूँजीको व्यवस्थापन गर्छौ ।

यद्यपी, अहिले २ अर्ब पूँजी यति ठूलो परियोजनाका लागि निकै कम हो । तर, भोलिका दिनमा आवश्यक परेमा पूँजी वृद्धि गर्दै जाने सक्ने अवस्था रहन्छ । दोस्रो कुरा, हामी उत्पादनको मोडेलमा जाँदा पनि हामीले कम खर्च वा लागत लगाएर बढी उत्पादन गर्न सकिने गरी डिजाइन गरिएको छ । एकैचोटी ठूलो पूँजी जुटाएर पैसाको अवमूल्यन गर्दैनौं । स्वच्छ, मितव्ययी र पारदर्शी ढंगबाट कार्यक्रम तथा योजनाहरु अघि बढाउने गरी योजना बनाएका छौं । 

अहिले वर्षेनी लाखौं युवाहरु स्वदेशमा अवसर नदेखेर विदेश पलायन भइसकेको अवस्था छ । अझ दैनिकी रुपमा विदेश जाने युवाहरुको एयरपोर्टमा लाइन देख्न सकिन्छ । त्यस्ता युवालाई कृषिका माध्यमबाट स्वदेशमा रोजगारी दिन किन सकिएन् ? कृषिमा केही गर्छु भन्ने युवालाई बैंकले के सहयोग गर्छ ?

राष्ट्रिय खाद्य बैंकले आफ्नो उद्धेश्यमा पनि राखेको छ कि उत्पादनलाई पहिलो प्राथमिकता दिने । त्यस्तै, कुल गार्हस्थ उत्पादन(जीडीपी)मा योगदान पुर्याउने, परनिर्भरता घटाउने, रोजगारी सिर्जना गर्ने, कृषि र पर्यटनलाई जोड्ने, खाना र पौष्ट्रिक खाद्य पदार्थको प्रवद्र्धन गर्ने लगायतका बैंकका उद्धेश्य छन् । 

खाद्य बैंकले कृषिमा काम गर्ने भएसँगै हामीले सबै विषयगत ज्ञान भएका दक्ष वा अर्धदक्ष जनशक्तिलाई काममा लगाउन सक्छौं । राष्ट्रिय खाद्य बैंकलाई नेपालकै नमुना बनाउने गरी हामी अघि बढेका छौं । त्यसमा हामी सफल पनि हुन्छौं । किनकी हामी बस्तु आफैं उत्पादन गरी बेच्ने हो ।

किसान मिलेर उत्पादन गर्ने हो । माटोबाट उत्पादन भएका वस्तुमा किसानलाई पनि राम्रो मूल्य दिने र ती वस्तुहरु उपभोक्ताका चुल्हासम्म पनि बैंकले नै बनाउने हो । ‘धुलो र हिलो देखि चुल्हो’सम्म हामी आफैंले पुर्याउने गरी तयारी गरिएको हुनाले हामीलाई धेरै जनशक्तिको आवश्यकता पर्छ । जस्तो कि कृषि बिषय पढ्नुभएका डाक्टरसाबहरु देखि लिएर कृषि विषय विज्ञ र बजार व्यवस्थापनमा अनुभवप्राप्त जनशक्ति आवश्यक पर्छ । 

कृषि र प्रविधिलाई जोड्ने गरी आईटी सम्वन्धि जनशक्ति, अर्थ र कानुनसँग जोडिएका जनशक्ति ठूलो संख्यामा चाहिन्छ । ढुवानी गर्दा ड्राइभर, होमडेलिभरी गर्दा चाहिने जनशक्ति, डिपार्टमेन्ट स्टोरहरु, प्याकेजिङ गर्ने, प्रशोधन गर्ने लगायतका तमाम काम गर्नका लागि हजारौं होइन, हामीले लाखौंलाई रोजगारी सिर्जना दिने गरी योजना बनाएका छौं । त्यो पूरा गर्छौ र, केही समय पछि नेपालमा निजीक्षेत्रबाट सबैभन्दा बढी रोजगारी दिने बैंकका रुपमा नेपाल खाद्य बैंक लिमिटेडको नाम आउनेछ ।

किसानले उत्पादन गरेको कृषिउपजलाई बैंकले नै खरिद गर्ने र उपभोक्तासम्म सस्तो मूल्यमा पुर्याउने भन्नुभएको छ । यसबाट बिचौलिया अन्त्य गर्ने भनेका छौं । यो त निकै महत्वकांक्षी योजना भएन् र, कसरी सम्भव छ ?

अहिले हामीले देख्दा बिचौलियाका कारण किसानले मूल्य नपाएको भयाबह स्थिति छ । किसानहरुले उत्पादन गरेको वस्तु बजार नपाएका कारण बिचौलियाले सस्तोमा खरिद गर्नुपर्ने अवस्था छ । केही किसानको कृषिउपज बारीमै सडेर गएको छ । अर्थात, किसानको बजारसम्म पहुँच छैन । त्यसकारण राष्ट्रिय खाद्य बैंकले ‘पाइलट प्रोजेक्ट’ को रुपमा केही जग्गा भाडामा लिएर काम गर्छौ । त्यहाँ किसानलाई यसरी काम गर्नुपर्छ है भनेर सिकाउँछौं ।  त्यहाँको माटो परिक्षण गर्छौ । किनभने हामीले उत्पादन गर्ने कुरा बिषादी र रसायनको मात्रा कम भएको र भविष्यमा गएर अग्र्यानिक वा प्राकृतिक खानेकुरा बनाउने नै हो । त्यसो गर्नका लागि हामीले माटोको उर्वराशक्तिलाई पनि बचाउनुपर्ने हुन्छ ।

त्यसकारण, हाम्रा विज्ञहरुले पनि माटोको पोषण र मौलिकता बढाउँदै अर्गानिक उत्पादन गर्नुपर्छ भनेर जोड दिनुभएको छ । पहिले हामीले किसानलाई देखाउँछौ, सिकाउँछौं । त्यसपछि समुदायका किसानहरु, समुह, सहकारी, निजी कम्पनीहरु र नियमनकारी निकायबाट स्वीकृत समुहहरुलाई उत्पादनका काममा सरिक गराउँछौं । हामीले त्यहाँ निशुल्क प्राविधिक तालिम दिन्छौं । 

माटो बचाउनको लागि प्रांगारिक मल कसरी तयार गर्ने भनेर सिकाउँछौं । किनभने हाम्रा गतिविधिहरु वातावरणमैत्री हुनेछन् । अहिले न्यून मात्रामा प्रयोग गरिएको रसायनका मात्रालाई क्रमशः हटाउँदै जानुपर्छ र भविष्यमा यसलाई शुन्यमा झार्ने हाम्रो योजना छ ।

त्यसरी उत्पादन भएका वस्तु पहिले नै किन्ने ग्यारेन्टी हामीले गर्छौ । किसानसँग उहाँहरुले उत्पादन गर्दा लाग्ने लागतभन्दा बढी रकम दिएर नै हामीले खरिद गर्छौ । त्यसपछि हामीले भण्डारण गर्छौ । त्यसपछि ग्रेडिङ गर्ने, प्रशोधन गर्ने र प्याकेजिङ गर्ने लगायतका काम गर्छौ । त्यस्ता कृषिउपज पहिले खाद्य बैंकका कर्मचारी र परिवारका लागि प्रयोग गर्दै अग्र्यानिक फुडको प्रयोग गर्न सबैलाई जोड दिँदै जान्छौं ।

त्यस्तै हाम्रो मेडिकल टिमका डाक्टरसाबहरु हुनुहुन्छ, उहाँहरुले पोषणयुक्त खानेकुराहरुको बारेमा जानकारी गराउनुहुन्छ । त्यसैले ‘पोषिला आहारका लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान’ भन्ने हाम्रो मूल नारा अघि बढ्नेछ । तर, अहिले नै यी कुराहरु नी सम्भव छ र भन्ने जस्तो लाग्छ । तर, गरे पछि दुनियाँमा असम्भव भन्ने हुँदैन । 

खाद्य बैंकले यी कार्यक्रम अघि बढाउँदै स्थानीय सरकार, प्रदेश सरकार, किसानका समूहहरु, पेशागत संगठनहरुलाई हामीले आवद्ध गराउँदै उत्पादन, भण्डारण र विक्रि वितरणको काममा सरिक गराउँछौं । यो देशको अहिलेको आवश्यकता पनि हो । अहिले पनि देशका ५० प्रतिशत जग्गाहरु बाँझा छन् । ती बाँझा जमिनहरुमा क्रमशः हराभरा बनाउँदै अन्नबाली वा जुन ठाउँमा जे खेती हुन्छ त्यहाँ सोही खेती फलाउने गरी हामीले तयारी गरेका छौं । हामीले यो अभियान सुरु गरेपछि पक्कै पनि परिणाम देखिन केही समय कुर्नै पर्छ । हामी कृषिमा आक्रामक तरिकाले परिवर्तन गर्ने गरी लागेका छौं ।

मूलतः यो नाफामूलक कृषि कम्पनी नै हो । तर, नाफा कमाउने नाममा हामीले अखाद्य वस्तु राखेर वा अचाक्ली ३०० प्रतिशत मूल्य बढाएर कमाउने उद्धेश्य हाम्रो छैन । हामीले किसानबाट किन्दा खेरी यतिमा किन्यौं र उपभोक्ताकोमा लैजाँदा यतिमा लैजान्छौं भनेर पारदर्शी रुपमा देखाउँछा । त्यो बीचमा ५/१० प्रतिशत नाफा राखेका छौं है भनेर सार्वजनिक नै गर्छौ । यो किन गरेको भने हामीले सर्वसाधारणको पैसा उठाएका छौं । उहाँहरुको गरेको लगानीको लाभांश दिनुपर्ने पनि हुन्छ ।

कृषिको काम भनेको सबै कुरा किसानले ब्यहोर्नुपर्ने हुन्छ । जस्तो कि पानी धेरै पर्यो, बाढी पहिरो आयो भने किसानलाई समस्या । सुख्खा भयो पानी परेन भने पनि किसानलाई समस्या । कुनै रोगव्याधी वा प्रकोपले खेतीपातीमा नोक्सान हुन्छ, किसानलाई नै समस्या । ढुवानी गर्न नसक्ने गरी बाटो अवरुद्ध भयो वा यातायातको व्यवस्थापन भएन भने किसानलाई नै समस्या छ । यी लगायत अन्य समस्या किसानलाई पर्ने हुनाले त्यसको प्रभाव राष्ट्रिय खाद्य बैंकलाई पनि पर्छ ।

त्यही भएर अहिले खाद्य बैंकले नेपाल सरकारसँग, स्थानीय र प्रदेश सरकारसँग कोरोनाविरुद्धको खोप सबैभन्दा पहिला किसानहरुलाई लगाउनुपर्छ । किनकी, किसानहरु ‘फ्रन्टलाइन’ मा बसेर काम गरिरहेका छन् ।

राष्ट्रिय खाद्य बैंकले सर्वसाधारणका लागि सेयर जारी कहिले गर्नुहुन्छ र, कतिको सेयर सर्वसाधारणलाई दिनुहुन्छ ?

नेपाल सरकारको कम्पनी ऐन अन्र्तगत आएपछि ३० प्रतिशत सर्वसाधारणका लागि सेयर जारी गर्नैपर्छ । अहिले हाम्रो २ अर्ब पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर आइपीओ जारी गर्छौ । अहिले ५९३ जना प्रमोटर सेयर सदस्यहरु छन् । हामीले प्रमोटर सेयरको संख्या हजार पुर्याउने लक्ष्य राखेका छौं ।

हामीले आउँदो असार मसान्तसम्म प्रमोटर सेयरका लागि इच्छा हुनेहरु सहभागी हुन पाउनुहुन्छ । विशेषगरी कृषिमा रहनुभएका र कृषिमा लगानी गर्न चाहनुहुने साथीहरुलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेका छौं । तर, प्रतिवद्धताका आवेदनहरु धेरै नै आएका छन् । प्रमोटर सेयर सदस्य बन्न न्यूतमन एक हजार कित्ता प्रतिकित्ता १०० रुपैयाँका दरले एक लाख रुपैयाँको सेयर खरिद गर्नुपर्छ ।

कृषिक्षेत्रमा जसरी आक्रामक रुपमा नेपाल खाद्य बैंक आइरहेको छ । लगानी पनि गर्ने गरी आएको छ । यसमा गरेको लगानी सुनिश्चितता कसरी गर्नुहुन्छ ? लगानीको जोखिम साँच्चीकै भएकै हो ?

अहिलेसम्म ट्रेन्ड हेर्नेहो भने हामीसँग केही पैसा हुन्छ र केही काम गरौं वा लगानी गरौं भन्ने उत्साह हुन्छ । त्यसकारण कृषिमै लगानी गरौं न त भनेर लागेका हौं । कृषिमा सरकारले अनुदान दिन्छ, सहुलियतपूर्ण कर्जा पनि दिन्छ भन्ने अपुष्ट कुराहरु पनि सुन्दै आएका छौं ।

धेरै मान्छेहरु कृषिक्षेत्रबाट असफल भएका थुप्रै उदाहरण छन् । अरु व्यवसायमा एक पटक गरेपछि बर्षौसम्मका लागि हुन्छ । तर, कृषिमा अनेक समस्या आइरहन्छन् । त्यसैले धेरैले सुविधाउन्मुख पेशा रोज्नुहुन्छ । हामीले पनि २ अर्ब पूँजी कुनै फाइनान्स वा वित्तिय संस्था खोलेर त्यसमाफर्त कारोबार गरेको भएदेखि एक/दुई महिनादेखि हामीले पैसा कमाउन थाल्छौं । त्यो हामीलाई थाहा छ । तर, हामीले बुझि बुझि अहिलेको कृषिलाई बढाई कुल गार्हस्थ उत्पादन(जीडीपी) मा योगदान पुर्याउने र बाहिरबाट आयात हुने खाद्य वस्तु रोकेर स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुने गरी हामी लाग्छौं ।

त्यसका लागि परिस्थिति सजिलो पक्कै छैन । किनभने, कृषिक्षेत्र भित्र पनि विभिन्न प्रकारका बेतिथि छन् । हामीले पहिला सानो क्षेत्रको जग्गाबाट उत्पादन थाल्छौं । त्यसअनुसार हामीले झापाको गौरादह नगरपालिका ४ मा ६० विघा जग्गा भाडा लिएर ‘पाइलट प्रोजेक्ट’ को रुपमा काम अघि बढाएका छौं ।  ४०३ विघा जमिनमा त्यहाँ धान खेती गर्यौ । स्थानीय रैथाने बालीका रुपमा रहेको धान उत्पादन गर्यौ । बर्दियाको गुलरिया नगरपालिका ३ खैरेमा  ६५ विघा जग्गा भाडामा लियौं । त्यहाँ पनि रैथाने लगायतका जातको धान रोपिएको छ । अरु किसानसँग मिलेर हामीले ५१४ विघा जग्गामा धान उत्पादनको काम गरेका छौं । त्यस्तै पोखराको हेम्जामा ३५ विघा जग्गामा धान खेती गरिरहेका छौं । 

खाद्य बैंकको उत्पादन बजारमा कहिलेसम्म आउँछ ?

अहिले हामीले २२ ओटा जिल्लाबाट कार्यक्रम सुरु गरेका छौं । पहिलो चरणमा अन्नबाली उत्पादनबाट सुरु गरिसकेका छौं । जसमा धान, गहुँ, कोदो, मकै, फापर, जौजस्ता अन्नबाली खासगरी तराइका जिल्लाबाट सुरु गरेका छौं ।

 धान र गहुँ तराईका जिल्लामा र मकै र कोदो पहाडका जिल्लाबाट उत्पादन गर्देछौं ।  आउँदो मंसिर/पुससम्म खाद्य बैंकले नै धान, गहुँ, कोदो, मकैं, फापरसहित गेडागुडी बजारमा ल्याउँछ । त्यस्ता खाद्यबालीहरु अग्र्यानिक हुनेछन् ।

सम्बन्धित पोस्टहरू