आवेदन फारम

झापामा राष्ट्रिय खाद्य बैंकले लगायो ५० विगाहमा धान

  • Admin
  • २०७८ असार २१
झापामा राष्ट्रिय खाद्य बैंकले लगायो ५० विगाहमा धान

झापा, असार २१ । राष्ट्रिय खाद्य बैंकले झापाको गौरादहमा सञ्चालनमा ल्याएको कृषि परियोजना अन्तरगत धान खेती सुरु गरेको छ । परियोजना सञ्चालनका लागि बैंकले झापाको गौरादहमा ५० विगाह जग्गा भाडामा लिएर सोमबारदेखि धान लगाउन सुरु गरेको हो ।

बैंकले बैशाखमा सोही स्थानमा आफ्नो शाखा कार्यालयको समेत विस्तार गरेको थियो । कृषि पेशालाई सम्मानित बनाएर उत्पादन बढाउने उद्देश्यले झापाको गौरादह नगरपालिका –२ र ७ नम्बर वडामा परियोजना सुरू भएको हो । सो स्थानमा बास्मती धानका चार जात रैथाने बास्मती, कालो बास्मती, हाइब्रिड बास्मति, र लोकल कालो बास्मती लगाइएको छ ।

 

‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ झापामा प्रदेशकै पहिलो परियोजना सञ्चालनमा आइसकेको राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । “हामीले मंहगो मूल्य तिरेर नेपालमा बास्मती चामल भित्र्ने गरेकाले त्यसलाई रोक्नका लागि बास्मती धानको खेती सुरु गरेका हौँ” उप्रेतीले भने ।

झापा गौरादहका का कृषकले बैंकलाई १० वर्षसम्म भाडामा जग्गा उपलब्ध गराउने सम्झौता गरेका छन् । बैंकले कृषकलाई बार्षिक प्रतिविगाह ३५ हजार रुपैयाँ उपलब्ध गराउने छ । बैंकले पूर्वी पहाडी जिल्लामा चिया, मकै, गहुँलगायतका बालीमा लगानी गर्ने योजना बनाएको अध्यक्ष उप्रेतीले बजार दैनिकलाई जानकारी दिए । प्रदेश–१ भरीको उत्पादन र बजारीकरणका लागि इटहरीमा सम्पर्क कार्यालय स्थापना हुने बैंकले जनाएको छ । भाडा लिएको जमिनमा सोही क्षेत्रका नागरिकलाई रोजगारीसमेत पाएका छन् ।

बैंकलाई जमिन भाडामा दिएका गौरादहका धन्नजय चुँडाल खाद्य बैंकले कृषिलाई औद्योगिकरणमा लानेमा विश्वस्त रहेको बताउँछन् । “कृषकसँग दक्ष कृषि विज्ञ नहुँदा साथै उत्पादनको बजारीकरण नहुँदा अपेक्षित लाभ लिन नसकिरहेको अवस्थामा बैंकलाई भाडामा जग्गा दिइएको चुँडलाले बताए । “बैंकले खेती सुरु गरेको छ । बैंक भएकाले पनि सफल हुन्छ भन्नेमा हामीलाई लागेको छ” चुँडालले भने ।
खाद्य बैंकले बर्दिया, पोखराको हेमजामा समेत कृषि परियोजना सञ्चालनमा ल्याएको छ ।

यी परियोजना पाइलट प्रोजेक्टको रुपमा अघि बढाइएको बैंकले जनाएको छ । “हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवम् व्यवस्थीत खेती प्रणालीमा समाहीत गर्दै लैजान्छौँ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै वर्षबाट हामी खरिद पनि गर्छौं । ब्राडिङ गरेर यसै वर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याउछौँ” उप्रेती भन्छन् ।

सम्बन्धित पोस्टहरू