आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल

कृषि आत्मनिर्भरताका लागि राष्ट्रिय खाद्य बैंक

  • Rastriya khadya bank
  • २०७९ ब‌ैशाख २७
कृषि आत्मनिर्भरताका लागि राष्ट्रिय खाद्य बैंक

‘पोषिलो आहाराका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ नारा आत्मसात् गर्दै करीब १ वर्षअघि राष्ट्रिय खाद्य बैंक स्थापना भएको थियो । नेपाल कृषिप्रधान देश भए पनि नेपालमा वर्षेनि अर्बौं रुपैयाँको खाद्य वस्तु विदेशी मुलुकबाट आयात गर्नुपर्ने अवस्था र विषादीयुक्त खानेकुरा न्यूनीकरण गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र यहाँका जनतालाई विषादीरहित खानेकुरा खुवाउन यसको स्थपना भएको हो ।

अहिले दैनिक २ हजार युवाशक्ति विदेशतर्फ पलायन हुने गरेको अवस्थामा देशको कृषिक्षेत्र दिन प्रतिदिन कमजोर हुँदै गएको छ, जसले गर्दा गाउँगाउँमा हजारौं हेक्टर जमीन बाँझै छ । देशमै उत्पादन गर्न सकिने खालका फलफूल, तरकारी र दालचामलसमेत विदेशबाट ल्याउनुपर्ने अवस्था छ । त्यसको अन्त्य गर्दै आन्तरिक उत्पादन बढाउन खाद्य बैंक जरुरी देखिएको हो ।

सबै किसिमका खाद्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउने र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान बढाउन खाद्य बैंक स्थापनाले ठूलो सहयोग गर्ने अपेक्षा लिइएको छ । त्यसैगरी नेपालमा इको एग्रो टुरिजम विकास गर्न पनि यसको भूमिका उल्लेखनीय रहनेछ । त्यसैको विकासका लागि खाद्य बैंकले पहाडी र तराईका २२ जिल्लामा धान, गहुँ, मकै, तोरी, कोदो, फापरजस्ता मुख्य खाद्यबालीको उत्पादन कार्य शुरू गरिसकेको छ ।

सोही क्रममा बर्दिया जिल्लाको खैरी भन्ने स्थानमा पाइलट प्रोजेक्टका रूपमा हाम्रो संस्कार मिसिएको रैथाने बालीलाई प्राथमिकता दिँदै माटो परीक्षण गरेर आठ प्रकारका बासमती धान फलाइयो । अहिले विभिन्न बहुराष्ट्रिय कम्पनीले ल्याएका नपुंशक बीउको प्रचलन बढ्दै गएकाले रैथाने तथा स्थानीय बीउबिजन जोगाउनु पर्छ र ७७ ओटै जिल्लामा राष्ट्रिय खाद्य बैंक पुर्‍याउनुपर्छ भन्ने पनि हाम्रो एउटा अभियान हो । रैथाने बाली जोगाउने प्रोजेक्ट सफल भएपछि त्यसैलाई बीउको रूपमा प्रयोग गरेर बिस्तारै त्यही ठाउँका किसानसँग सहकार्य गरी उत्पादन गर्न लगाउने र त्यो उत्पादन खरीद गर्ने ग्यारेन्टी पनि हामीले नै लिने गरी काम भएको छ ।

यही अभियानको परिधिभित्र रहेर वातावरणको संरक्षणसहित मानव स्वास्थ्यलाई पनि ध्यानमा राख्दै विषादीरहित र अग्र्यानिक खानेकुरा उत्पादन गर्ने, रैथानेबालीको संरक्षण गर्दै स्वदेशी बीउलाई प्राथमिकता दिने र स्वदेशमै फलाएको वस्तुले देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ लाग्यौं । यसले गर्दा उत्पादन लागत पनि केही कम गर्ने र फाइदा बढी गर्नुपर्छ भन्ने उद्देश्यअनुरूप प्रोफेसर डा. चन्द्र पोखरेलको नेतृत्वमा राइसडक फार्मिङको प्रविधिसमेत खाद्य बैंककै अगुवाइमा नेपाल भित्र्याइयो ।

एउटै जमिनमा हाँसपालन र धानखेती गर्ने प्रविधि अवलम्बन नै राइसडक फार्मिङ प्रविधि हो । हाँसका चल्ला र रोपाइँ गरिएको धान एकै ठाउँमा सँगसँगै हुर्किने भएकाले हाँसको नङले जमीन कोरिने र धानमा भएको झार पनि हाँसले खाने भएकाले धानलाई गोडमेलको जरुरत पनि नपर्ने र हाँसको दिसाबाट धानलाई प्रांगारिक मलसमेत मिल्ने भएकाले रासायनिक मलको पनि आवश्यकता हुँदैन ।

यसरी धानखेती गर्दा धानको बाला लाग्ने समयमा हाँसलाई धानखेतबाट अलग गरिन्छ । अहिले परीक्षणका रूपमा सानो क्षेत्रफलमा यो प्रविधिमार्फत रोपाइँ गरिए पनि परीक्षण सफल भएमा यस प्रविधिलाई विस्तार गर्दै लैजाने योजना छ ।

नेपालमा अहिले करीब ६५ प्रतिशत जनता कृषि पेशामा आबद्ध छन् भने कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान २७ प्रतिशत जति छ । तर, पछिल्लो समय दिन प्रतिदिन बढ्दै गएको जग्गाको खण्डीकरण, युवामाझ बढ्दै गएको वैदेशिक रोजगारीको आकर्षण र सरकारी नीतिहरू किसानमैत्री नहुँदा जीडीपीमा यस क्षेत्रको योगदान घट्दै जाने संकेत हामी सहजै अनुमान लगाउन सक्छौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा कुल ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमीन छ । यसमध्ये करीब ७ प्रतिशत जमीन बाँझो छ ।

एकातिर खेतीयोग्य जमीनको उपभोग घट्दै गएर बाँझो जमीनको आकार बढ्दै जानु र अर्कातर्फ बढ्दो वैदेशिक रोजगारीले कृषि क्षेत्रतर्फ युवा पुस्ताको आकर्षण घट्दै जानुले रेमिट्यान्सबाट आएको रकम पनि हामीले खाद्य वस्तु किन्नमा विदेशतिरै पठाइरहेको विभिन्न तथ्यांकले देखाएका छन् । भन्नलाई हामीले नेपाललाई कृषिप्रधान देश भन्ने गरे पनि हरेक वर्षजसो ठूलो परिमाणमा खाद्यान्न आयात नगरेसम्म हाम्रो जीवनयापन सहज हुन सक्ने अवस्था छैन । किनभने भन्सार विभागको चालू आर्थिक वर्षको ९ महीनाको तथ्यांक हेर्ने हो भने पनि यस अवधिमा नेपालले करीब ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार रुपैयाँ प्रमुख खाद्य वस्तु धान, मकै र कोदो भित्र्याउनमा विदेशतिर पठाएको छ ।

हामीले विदेशबाट खाद्यान्न भित्र्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै विदेशमा समेत हाम्रो घरेलु उत्पादन निर्यात गर्ने उद्देश्यले खाद्य बैंकको स्थापना गर्नुपरेको हो । यो अवस्था परिवर्तन गर्न आजको भोलि त सम्भव छैन । तर, त्यो यात्राको पहिलो पाइला हामीले चालेका छौं । त्यसमा गर्व गर्नुपर्छ ।

बाँझो तथा खाली रहेका जमीनहरू, जस्तै : नेपाल सरकारको स्वामित्वमा रहेकादेखि गुठी तथा संस्थानका, नदीकिनार, बाटोछेउ र प्रसारण लाइनमुनिका जमीनमा समेत खेतीपाती गरेर जतिसक्दो रैथाने उत्पादनलाई बढावा दिँदै बाह्य मुलुकबाट आउने गरेका अखाद्य वस्तुलाई प्रतिस्थापन गर्ने र आफ्नै देशमा माटो सुहाउँदो अग्र्यानिक वस्तुको उत्पादन गरी विदेशतिर निर्यात बढाउने हाम्रो लक्ष्य हो ।

सम्बन्धित पोस्टहरू