आवेदन फारम

कृषिमा देशलाई आत्मनिर्भर बनाउन राष्ट्रिय खाद्य बैंक स्थापना

  • Admin
  • २०७७ फाल्गुण १४
कृषिमा देशलाई आत्मनिर्भर बनाउन राष्ट्रिय खाद्य बैंक स्थापना

कृषिमा देशलाई आत्मनिर्भर बनाउन राष्ट्रिय खाद्य बैंकको स्थापना गरिएको छ । बैंकले कृषि क्षेत्रमा ठूलो लगानी गर्ने, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, क्रमशः अर्गानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सीप, बीउ, मलजलको समुचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि बैंकले देशैभरका किसानहरू, कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसस्थाहरूसँग सहकार्य गरी कार्य अघि बढाउने जनाएको छ । सोहीअनुसारको कार्य सुरु पनि गरिसकेको बैंकको भनाइ छ ।

बैंकले सरकारी खाली जग्गा, सामुदायिक वनका खाली जग्गा, गुठीका जग्गा तथा व्यक्तिका जग्गा लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने छ । बंैकले हालसम्म कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सालगायतका जिल्लाहरूमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको जानकारी दिएको छ ।

ती जिल्लाहरूमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणामा पुगिसकेको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए । उनका अनुसार हालसम्म बैंकले बर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरीलगायत विभिन्न ठाउँमा दुई सय बिघा जग्गा लिजमा लिसकेको छ । साथै सोही स्थानमा करिब पाँच हजार बिघा किसानका जमीनहरूमा सहकार्य गर्दै उत्पादनकार्य अघि बढाउने तयारी थालिएको उप्रेतीले बताए । त्यसैगरी बैंकले झापा, मोरङ, सुनसरी जिल्लामा एक हजार ४१ बिघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमति गरेको छ । औपचारिक हस्ताक्षर हुन भने बाँकी रहेको छ ।

पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडीलगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोस्रो चरणमा माछामासु, फलफूल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिने बताइएको छ । खासगरी पाइलट प्रोजेक्टको रूपमा हरेक प्रदेश र जिल्लाहरूलाई कृषि उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गर्दै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरूले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्यमा यो बंैकले सहकार्य गर्ने अध्यक्ष उप्रेतीले बताए । बैंकले क्रमशः उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ ।

यो बैंकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्दछ । धानविज्ञ डा. भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पतिविज्ञ प्रा.डा. चन्द्रप्रकाश पोखरेल, गहुँ विशेषज्ञ डा. मदन भट्ट, पशुपन्छी विज्ञ डा. बलबहादुर चन्द, कृषिविज्ञ शिव यन्दोलगायतका विज्ञहरूको सहभागिता रहेको यस बैंकमा एक सय ५० जनाभन्दा बढी कृषि, पोषण, वनस्पतिसम्बन्धी अध्ययन गरेका व्यक्तिहरू संस्थापकको रूपमा रहेका छन् ।

साथै दुई सय जना कृषि प्राविधिकहरू पनि यो बैंकमा संग्लन रहेका छन् । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ दुई अर्ब लगानीमा स्थापना भएको हो । हालसम्म चार सय ९१ जना प्रमोटर सेयरसदस्य रहेको यस बैंकले त्यसलाई अझै विस्तार गर्दै केही वर्षभित्रै साधारण सेयर (आईपीओ) समेत जारी गर्ने लक्ष्य लिएको छ ।

यसैगरि बैंकले गुणस्तरयुक्त खाद्य सामग्रीहरूलाई सुरक्षित भण्डारण गरी बैंकमार्फत आफ्नै सेल्स डिपो र होम डेलिभरीहरू ई–कमर्समार्फत बिक्रीवितरण गर्ने उद्देश्य समेत बनाएको छ । यस्तै बैंकले कृषि उत्पादन वृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामार्फत आफ्ना गतिविधिहरू समेत सार्वजनिक गरिसकेको छ । कृषि पेसालाई मर्यादित, सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउने, देशलाई आत्मनिर्भर बनाउने कार्यलाई यो बैंकले अभियानको रूपमा अघि बढाएको बैंकका अध्यक्ष उप्रेतीले बताए ।

बैंकले आगमी १५ गतेभित्र नयाँ बानेश्वरमा तयार गरेको केन्द्रीय कार्यालयको प्रधानमनत्रीमार्फत उद्घाटन गर्ने र २०७८ वैशाखभित्र सबै प्रदेश कार्यालयको उद्घाटन गर्नेगरी तयारी गरिरहेको छ । बैंकले सातवटै प्रदेश र सबै जिल्लामा शाखा विस्तार गर्ने जनाएको छ ।

सम्बन्धित पोस्टहरू