आवेदन फारम

कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा खाद्य बैंक

  • Admin
  • २०७७ माघ २६
कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा खाद्य बैंक

झापा, ५०% भन्दा बढी परिवारहरुमा खाद्य असुरक्षा रहेको एक सर्वेक्षणले देखाएको छ । नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार ५० प्रतिशत परिवारमा वर्षभरि खाना खान पहुँच नरहेको सर्वेक्षणले देखाएको हो ।


जुन पहाडी र हिमाली भेगमा अझ बढिरहेको छ । यसैगरी दैनिक निर्धारित क्यालोरीको न्यूनतम् मात्रा उपभोग गर्नबाट करिब ८ प्रतिशत जनसंख्या बञ्चित रहेको सर्वेक्षणको तथ्याङ्कमा उल्लेख छ ।  बिशेषगरी पाँच वर्षमुनिका बालबालिका, किशोर किशोरी, गर्भवती तथा सुत्केरी महिलाहरुमा न्यून पोषण रहिरहेको अवस्था छ भने आजभोलिको बदलिँदो जीवनशैलीको कारणले मुख्य शहरी क्षेत्रहरुमा अधिक पोषण (मोटोपना) पनि बढ्दै गइरहेको तथ्याङ्मा उल्लेख छ ।

भौगोलिक बिकटता, गरिबी, बैदेशिक रोजगारी तथा बसाइँसराइको कारणले कृषि उत्पादन गर्ने जनशक्तिको अभाव, खाद्य वस्तुको अनियन्त्रित मूल्य बृद्धि, नेपालीहरुको खाना खाने शैली फेरिएको, परम्परागत कृषि प्रणालीमा मात्र भर पर्नु, व्यवसायिक कृषि उपजहरुमा अनियन्त्रित जीवनाशक विषादि, एन्टिबायोटिक, हर्मोन, खाद्यवस्तुमा अखाद्य पदार्थको मिश्रण गर्नु, जलवायु परिवर्तन तथा अन्य प्राकृतिक विपत्तिहरुले खाद्य वस्तुको उत्पादनमा ह्रास आउनु, र खाने वानी व्यवहार सम्बन्धि जनचेतनाको कमी हुनु नेपालमा खाद्य असुरक्षाका मुख्य कारण हुन् ।

नेपालमा खाद्य असुरक्षा बढ्दै गएपछि एउटा सानो ब्लकमा एकनासको बाली लगाउन कम्तीमा २५ देखि १ हजार विगाहसम्म जग्गा लिजमा लिएर खेती गर्दै स्थानीयस्तरमा कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा राष्ट्रिय खाद्य बैंक लिमिटेड अग्रसर भएको छ । कृषि उत्पादन र व्यापारमूलक कार्य गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खाद्य बैंक लिमिटेडले आइतवार झापाको बिर्तामोडमा आफ्ना योजना समेत सार्वजनिक गर्दै बिर्तामोडका कृषकहरुसँग छलफल गरेको छ ।

बैंकले बिर्तामोड नगरपालिकासंग सहकार्य गर्दै कृषकहरुसँग साक्षात्कार गरी आफ्नो उद्देश्य र गर्न लागेको कामबारे जानकारी गराएको हो । सय जनाले दुई अर्ब रुपैयाँ लगानी गर्दै गत असोजमा स्थापना गरेको बैंकले नेपालका हरेक ठाउँमा कृषिको बारेमा अध्ययन अनुसन्धान गरी कुन ठाउँमा के फल्छ त्यही वाली लगाएर उत्पादन बृद्धि गर्ने उद्देश्य राखेको र त्यहीँका कृषकहरुलाई आवश्यक मल, वीऊ र उपकरण दिएर कृषि उत्पादनमा प्रोत्साहन गर्ने बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । उनले विषादि र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै जाने भन्दै दुई–चार वर्षमा शतप्रतिशत अर्गानिक खाद्यान्न वाली उत्पादन गर्ने लक्ष्य रहेको बताए । नेपालले प्रत्येक वर्ष ५६ अर्ब बराबरको चामल आयात गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै कार्यकारी अध्यक्ष उप्रेतीले परनिर्भरतालाई कम गरी आत्मनिर्भर बनाउने आफ्नो अभियान रहेको जानकारी दिए ।

स्थानीय वीऊ–विजनलाई संरक्षण गर्दै अर्गानिक खानेकुराको उत्पादनका लागि समेत बैंकले काम गर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले विषादि र प्रदुषणमुक्त नगर बनाउने आफ्नो परिकल्पनालाई साकार पार्न खाद्य वैंकले मद्दत पुग्ने बिश्वास व्यक्त गरे ।

थोरै जग्गाबाट धेरै आम्दानी गरी किसानलाई समृद्धितर्फ डो¥याउन बैंकले भूमिका खेल्नु पर्नेमा उनको जोड थियो । शुरुमा धान मकैजस्ता खाद्यान्न वाली लगाउने योजना बनाएको बैंकले त्यसपछि गेडागुडी, फलफूल र माछामासुको उत्पादन थाल्ने बैंकका प्रदेश संयोजक राजुप्रसाद खतिवडाले बताए । झापामा यस वर्षदेखि एक–दुईवटा ब्लकमा खेती थाल्ने बताइएको छ ।

बैंकका सञ्चालक ईश्वर लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, व्यवसायी टंक विश्वकर्मा, नगर एकीकृत मूल कृषक समूहका अध्यक्ष खगेन्द्र शिवाकोटीलगायतले बोलेका थिए । नगरका १० वटै वडाका कृषक प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नर्वदा ढकालले गरेकी थिइन् ।

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको खाद्य बैंकले ७ प्रदेश र ७७ वटै जिल्लामा कार्यालय खोल्ने तयारी गरेको जनाइएको छ । दिगो बिकासको लक्ष्यको लक्ष्य नम्बर दुई बमोजिम सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा र पोषण अवस्था सुधार गर्ने तथा कृषि प्रणालीलाई प्रवद्र्धन गर्ने रहेको छ ।

उक्त लक्ष्य प्राप्तिको लागि नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको छ । केन्द्रीय, प्रदेश तथा स्थानीय तहहरुबाट विषयगत क्षेत्रहरुद्वारा विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै क्रममा बिर्तामोड नगरपालिकाले पनि राष्ट्रिय खाद्य बैंकसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ ।

 

साभार

सम्बन्धित पोस्टहरू