आवेदन फारम

२४९ जना मिलेर खोले खाद्य बैंक, २ अर्ब पुँजी रहेको बैंकले उत्पादन र बजारिकरण आफैले गर्ने

  • Admin
  • २०७७ फाल्गुण १३
२४९ जना मिलेर खोले खाद्य बैंक, २ अर्ब पुँजी रहेको बैंकले उत्पादन र बजारिकरण आफैले गर्ने

काठमाडौं । पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारा लिएर खाद्य बैंक स्थापना भएको छ । बैंकले आफैले कृषिजन्य वस्तु उत्पादन तथा बजारिकरण गर्ने उद्धेश्यले बैंकको स्थापना गरेको हो ।

बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बैंक दुई अर्ब रुपैयाँ लागतमा स्थापना भएको बताएका छन् । ‘खाद्य बैंक एक फरक कन्सेप्टको बैंक हो, यसले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि, भणडारण र बजारिकरण गर्नेछ, हामीले उपभोक्ताको चुल्होसम्म हाम्रो उत्पादन पुर्याउने छौं, सामहुहिक लगानी तथा सहकार्यले हामीले यो बैंक खोलेका हौं,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार अहिले २ सय ४९ जना मात्रै बैंकको सेयरधनीका रुपमा रहेका छन् । यसको कुल पँजी भने २ अर्ब रुपैयाँ रहको छ । नेपालमा पनि खाद्यान्नमा काम गर्ने, अर्गानिक खानेकूराहरु उत्पादन गर्ने र हाम नागरिकका चुल्होसम्म शुद्ध खानेकूरा पुर्याउने बैंकको उद्धेश्य रहेको उनले बताए ।

‘अन्य बैंकहरुले पैसा लिने–दिने कारोबार गर्नुहुन्छ, हामीले सामान उत्पादन, भण्डारण तथा बजारिकण गरी उपभोक्तासमक्ष हामीले उत्पादन गरेको वस्तु पर्याउँछौं, मुख्य उद्धेश्य नै उत्पादनको काममा जोड दिने हो,’ उनले भने ।

उनका अनुसार बैंकको चैत पहिलो सातामा उद्घाटन हुनेछ । केन्द्रिय कार्यालय उद्घाटन भएको एक महिनाभित्रै प्रदेशका शाखाहरु स्थापना हुनेछन् । पब्लिक कम्पनीको रुपमा स्थापना भएको यो बैंकमा कृषि विज्ञदेखि युवायुवतीलाई आवद्ध गराउने रणनीति बैंकको छ ।

सरकारी बाँझो जग्गा, सामुदायिक वन तथा गुठीका खाली जग्गाहरू, खोला छेउछाउका खाली जग्गा तथा बगर, विद्युत प्रशारण लाइन मुनीका खाली जग्गा लिजमा लिएर कृषि उत्पादन बढाउने अभियानमा बैंक लागेको उप्रेतीले बताए । अहिले २ सय ४९ जना मात्रै सेयरधनी भएपनि विस्तारै सेयरधनीहरु बढाएर १ हजारसम्म पुर्याउने लक्ष्य रहेको उनकाे भनाई छ ।

‘देशभरका सबै स्थानीय तहमा पुग्ने हाम्रो लक्ष्य हो, आवश्यक ज्ञान, सीप, प्राविधिज्ञ, विउवीजन, मल, दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतका विज्ञहरूको सहभागितामा यस बैंक आफनो कार्यमा जुटेको छ, विज्ञहरुको टिम हामीसँग छ, राम्रो मुख्य लक्ष्य नै देशलाई कृषिमा आत्मनिर्भर बनाउने मात्र होइन, स्वदेशी उत्पादनलाई निर्यात गर्ने पनि हो,’ उनले भने ।

सम्बन्धित पोस्टहरू