आवेदन फारम

खाद्य बैंकमार्फत खाद्यान्न उत्पादन, भण्डारण र बजारीकरण गर्छौं

  • Admin
  • २०७७ चैत २४
खाद्य बैंकमार्फत खाद्यान्न उत्पादन, भण्डारण र बजारीकरण गर्छौं

‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । २ अर्ब रकम पुँजी संकलन गरी उत्पादन र व्यापारमूलक कार्य गर्ने लक्ष्यसहित बैंकको स्थापना भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि बर्सेनि ठूलो रकमको चामल आयात हुने गरेको छ । बैंकआफैंले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूलहरू केरा, दही, दूध, माछा, मासु, अन्डा, जडीबुटी, चिया, कफी, उखुलगायतका खाद्यान्न उत्पादन गर्ने उद्देश्य राखेको छ । बैंकले कृषि विज्ञमार्फत अध्ययन–अनुसन्धान गरेर कुन ठाउँमा कुन खाद्यान्न उत्पादन गर्न सकिन्छ भनेर सोहीअनुसार खाद्यान्न उत्पादन गर्ने बताएको छ । बैंकले विभिन्न जिल्लामा बाँझो रहेको जग्गा भाडामा लिएर खेती गर्न सुरु गरेको जानकारी दिएको छ । बैंकले विषादीमुक्त अर्गानिक उत्पादन गर्ने तयारी गरिरहेको छ । आगामी १० वर्षभित्रमा खाद्यान्नको उत्पादन बढाएर आयात प्रतिस्थापन गरी निर्यात गर्ने बैंकले लक्ष्य लिएको छ । स्थानीय सरकारसँग समन्वय गरी बाँझो रहेको जमिनमा खेती गरेर स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने बैंकको लक्ष्य छ । बैंकले कुन ठाउँमा कसरी खाद्यान्न उत्पादन गर्न लागेको छ । बैंकले कति वर्षभित्रमा कति खाद्यान्न उत्पादन गर्ने र त्यसलाई कसरी बिक्री–वितरण गर्नेछ लगायतका विषयमा केन्द्रित रही बैंकका कार्यकारी अधिकृत शंकर उप्रेतीसँग कारोबारकर्मी लक्ष्मी सापकोटाले गरेको कुराकानीको सार :

राष्ट्रिय खाद्य बैंकको स्थापना गर्नुको उद्देश्य के हो ?
राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गर्नुको उद्देश्य भनेको मुलुकमा आवश्यकताअनुसारको खाद्यान्नको उत्पादन गर्ने, रोजगारी सिर्जना गरी आयात प्रतिस्थापन हो । अहिलेसम्म हामीले गरेको कामका आधारमा यसलाई राष्ट्र व्यापारी रूपमा ठूलो नेटवर्कका रूपमा रहन सक्ने गरी स्थापना गरेका छौं । नेपाल सरकारले पनि कतिपय कृषिमा सुधार गर्ने कुरालाई सहयोग गर्ने गरी र किसानहरूका समस्यालाई सम्बोधन गर्नका लागि सरकारसँग सहजीकरण गर्ने र झक्झकाउने गरी बैंकको स्थापना भएको छ । कृषिमा ठूलो लगानी लिएर जानुपर्छ भनेर किसानको हकहित सुरक्षित राख्नका लागि कृषिसँग सम्बन्धित विज्ञहरूसँग छलफल गरेर राष्ट्रिय खाद्य बैंक स्थापना गरेका छौं । कृषि अध्ययन गरिरहेका, इजरायल, कोरिया, चाइना बसेर लामो समयसम्म कृषिमा काम गरेको अनुभव लिएका व्यक्ति पनि बैंकमा संलग्न हुनुहुन्छ । ५ सय जनाको संलग्नतामा यस राष्ट्रिय खाद्य बैंकनामक कृषि कम्पनीको स्थापना भएको छ । यसले बैंकिङ कारोबार, चेक साट्न, निक्षेप संकलन गर्ने काम गर्दैन । तर, आर्थिक कारोबारको काम भने गर्छन् । मुलुक सबै खालका कुराहरूमा परनिर्भरता भइसकेका छौं । मुलुकमा उत्पादन गर्ने पर्याप्त सम्भावना भए पनि उत्पादन नगर्ने र सबै खानेकुराहरू बाहिरबाट ल्याउने काम भइरहेको छ । स्वदेशमै उत्पादन हुने वस्तुको आयात रोक्नुपर्छ भन्ने अठोटका साथ बैंकको स्थापना भएको छ । नेपालमा उत्पादन गर्ने, भण्डारण र बिक्री–वितरण गर्ने एउटै मेकानिजम नभएको अवस्था छ । धेरै ठाउँमा किसानले उत्पादन गरेका उत्पादन बिचौलियाले बिक्री गर्ने हुँदा उनीहरू धनी हुने, किसान सधैं गरिब हुने र उपभोक्ताले महँगोमा तिर्नुपर्ने अवस्था छ । त्यस कुरालाई हटाउनका लागि बैंकले सबैभन्दा पहिला खाद्यान्न उत्पादनको काम गर्छ ।

खाद्य बैंकले कुन–कुन ठाउँमा के–के खाद्यान्न उत्पादन गर्दैछ ?
अन्नबालीमा धान, मकै, गहुँ, कोदो, फापर, जौ प्रकारका बाली सबै उत्पादन गर्छौं । तरकारीबाली, फलफूल, माछामासु, दही, दूध, चिया, कफी, गेडागुडी र तेलहनबालीमा हामी क्रमशः उत्पादनको काममा क्रमशः लाग्दै जान्छौं । यो वर्षदेखि नेपालका विभिन्न २२ वटा जिल्लाबाट धान, गहुँ, कोदो, मकैबाट उत्पादन सुरु गरेका छौं । बाँके, बर्दिया, कैलाली, कन्चनपुर, झापा, मोरङ, सुनसरी, उदयपुर, दोलखा, बारा, पर्सा, रौतहतलगायतका जिल्लामा उत्पादन सुरु गर्न लागेका छौं । पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा हामीले उत्पादन सुरु गर्दैछौं । व्यक्तिका जग्गा भाडामा लिइसकेका छौं । हामीसँग उत्पादनको क्रममा ठूलो विज्ञहरूको समूह पनि रहेको छ । कृषि अध्ययन गरेका झन्डै २ सय जना कामका लागि जनशक्ति तयार हुनुहुन्छ । त्यसैगरी विषयगत विज्ञहरू, धानको विज्ञ, गहुँ, माटो, मकै, गहुँका आफ्नो आफ्नो क्षेत्रगत रूपमा विज्ञहरू रहेका छन् । विज्ञहरूले कुन ठाउँमा के उत्पादन भनेर सल्लाह–सुझाव दिनुहुन्छ । कृषि प्राविधिकहरूको पनि समूह छ । इजरायलबाट कृषि अध्ययन गरेर आएको समूह पनि छ । यी सबै समूहलाई खाद्यान्न उत्पादनमा लगाउँछौं । उत्पादन गरिएको वस्तुलाई सुरक्षित तरिकाले भण्डारण गर्ने काम पनि बैंकले गर्छ । सुरक्षित भण्डारण गरिएको उत्पादनलाई ग्रेडिङ गर्ने, प्रशोधन गर्ने, बिक्री–वितरण गर्ने काम पनि खाद्य बैंकले गर्छ । खाद्यान्नको उत्पादन, प्रशोधनदेखि बजारीकरण गर्ने काम बैंकले गर्छ । उत्पादनको काममा आफैं उपस्थित हुने भएकाले हामीले किसानलाई पनि उत्पादन गर्न लगाउँछौं । जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यही वस्तु उत्पादन गर्छौं । धान हुने ठाउँमा, धानमात्र, मकै हुने ठाउँमा मकैको मात्र उत्पादन गर्छौं ।
हामीले उत्पादन गर्ने भनेको अर्गानिक हो । तर, तत्काल अर्गानिक उत्पादन गर्न सकिँदैन । किनभने माटोको तŒव नाश भएको छ । माटोलाई पनि संरक्षण गरेर ल्याउनुपर्ने भएकाले केही समयपछि अर्गानिक उत्पादनमा जान्छौं ।

मुलुकको खाद्य सुरक्षामा खाद्य बैंकमार्फत उत्पादन गरिएका उत्पादनले कस्तो योगदान पु-याउँछ ?
खाद्य सम्प्रभुताका लागि बैंक स्थापना भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान पुग्ने, रोजगारी सिर्जना गर्ने गरी उत्पादन बढाउँछौं । बैंकको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छ । पहिलो चरणमा हामी अनुसन्धानका रूपमा लागेका छौं । फाइलप्रोजेक्टका रूपमा उत्पादनमा लागेका छौं । अहिले २२ वटा जिल्लाबाट सुरु गरिएको छ । आगामी वर्ष ५० जिल्ला पुग्छौं र क्रमशः ७७ वटै जिल्लामा जान्छौं । देशैभर रहेको अधिकांश बाँझो जमिनलाई उत्पादनसँग जोड्छौं । मल, बीउ, जनशक्ति नपाउने समस्या आउन सक्छन् । ती सबै कुरालाई व्यवस्थापन गर्दै, स्थानीय, प्रादेशिक र संघीय सरकारलाई संलग्न गराउने गरी लागेको छ । जीडीपीमा खाद्य बैंकको उपस्थित भइसकेपछि यति योगदान भयो भन्ने किसिमले लागेका छौं । खाद्यान्न र पोषणका बारेमा जानकारी गराउने गरी स्वास्थ्य विज्ञान अध्ययन गरेको मेडिकल डाक्टर हुनुहुन्छ । उहाँले पोषणयुक्त खानेकुराहरूको जानकारी गराउनुहुन्छ । पोसिलो आहार स्वास्थ्यका लागि अतिआवश्यक पर्ने भएकाले पहिला विषादीको मात्र कम गर्दै उत्पादनमा जान्छौं । बैंकले उत्पादन गरिएका खानेकुराहरू प्रयोगशालाबाट परीक्षण भएर आएका हुन्छन् ।
अहिलेको जस्तो मिसावट, विषादीयुक्त भएको उत्पादन हुँदैन । हामीले पहिला मुलुकलाई नै चाहिने गरी उत्पादन गर्छौं र त्यसपछि बढी भयो भने विदेशमा पनि बिक्री गर्न सक्छौं ।

बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ । कति वर्षभित्र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्छौं भन्ने कुनै योजना छ ?
१० वर्षभित्रमा मुलुकलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गरेर बाहिर निर्यात गर्ने योजना बनाएका छौं । तीन तहकै सरकारसँग सहकार्य पनि गरिरहेका छौं । कतिपय ठाउँमा भनेअनुसारको सहज पनि छैन । धेरै प्रकारका चुनौती पनि छन् । इन्डोनेसियाबाट बेसार आयात गरेर खाइरहेका छौं । नेपालमा भएको बेसार कुहिएर गएको छ । यसमा पनि धेरै समस्या छन् । ती समस्यालाई समाधान गर्ने गरी, मुलुकलाई पुग्ने गरी खाद्यान्न उत्पादन गरियो भने आयात गर्न पर्दैन । तीन तहकै सरकारको सहयोग लिँदै १० वर्षभित्रमा मुलुकलाई आवश्यक पर्ने खाद्यान्नमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्ने गरी विज्ञसहितको ठूलो समूह यसमा लागेका छौं । खाद्य बैंकले उत्पादन गरिएका उत्पादन प्रयोगशालाबाट परीक्षण गरेर अर्गानिक छ भनेर मात्र बजारमा पठाउँछौं । अहिलेको बजार प्रणालीभन्दा भिन्न ढंगले गएका छौं, किनभने बाहिरबाट तरकारी, खाद्यान्न आयात हुन्छ । जुन खानलाई उपयुक्त छ कि छैन भनेर जाँच गरिएको छैन । उपभोक्ताले विष खाइरहेका छन् तर सरकारले टुलुटुल हेरेर बसिरहेको छ । स्वदेशी उत्पादन गुणस्तरयुक्त हुन्छ । त्यसलाई व्यवस्थित गर्नका लागि सरकारले पनि विशेष ध्यान दिनुपर्छ । सबैभन्दा पहिला पोसिलो खानेकुरामा जोड दिनुपर्छ । यसलाई अभियानकै रूपमा बनाएकाले यसलाई देशभर विस्तार गर्दै जानुपर्छ । पहिलो चरणमा खाद्यान्न उत्पादन गर्छ । खाद्यान्नमा आत्मनिर्भर भइसकेपछि क्रमशः फलफूल, तरकारीबालीमा जान्छौं । सन् २०१९ नेपाल सरकारको तथ्यांकलाई हेर्ने हो भने ५६ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ, जुन वैधानिक बाटोबाट आयात भएको छ । खाद्यान्न र तरकारी बाली गरेर बर्सेनि अर्बौं रुपैयाँ बाहिर गएको छ । देशलाई धनी बनाउनका लागि बाहिर जाने रकम रोक्नुपर्छ भन्ने हाम्रो मान्यता छ । नेपालमा उत्पादन गर्न सकिने धेरै वस्तु आयात भइरहेको छ । स्वदेशमै उत्पादन गर्न सकियो भने आयात कम गर्न सकिन्छ । उत्पादनमा जाँदाबित्तिकै जग्गा जमिन बाँझो हुँदैन । त्यहाँ रोजगारी सिर्जना हुन्छ । रोजगारी सिर्जना गर्ने कुरामा बैंकले उत्पादनदेखि प्याकेजिङसम्म धेरै मानिसको सहभागिता हुन्छ । सबै क्षेत्रका मानिसलाई रोजगारी सिर्जना गर्ने भएकाले खाद्य बैंकले नेपालका सबैभन्दा धेरै मानिसलाई रोजगारी दिने गरी परिकल्पना गरेको छ । कृषिलाई पर्यटनलाई जोड्ने काम गर्छ । इजरायलमा गएर कृषिको सीप सिक्नुपरेको छ । हाम्रो भौगोलिक र हावापानीले राम्रो भएको ठाउँमा उपत्पादन गर्न सक्ने धेरै सम्भावना छ । बैंकले उत्पादन गरेका वस्तुहरू बजारमा आइसकेपछि ग्राहकले खोजी–खोजी खान पाउने वातावरण गराउँछ । हामीले उत्पादन गरेको सामान उपभोक्तासमक्ष पु¥याउनका लागि होम डेलिभरीको व्यवस्था हुन्छ ।

बैंकको उत्पादन बढाउने, रोजगारी सिर्जना गरी आयात प्रतिस्थापन गर्ने लक्ष्य छ । यसका लागि सरकारले कसरी सहजीकरण गर्न आवश्यक छ ?
हामीले सरकारी निकायसँग गएर छलफल पनि गरेका छन् । हामीले सहयोग गर्छौं भनेर प्रतिबद्धता पनि गर्नुभएको छ । कृषिमन्त्री, सचिवसँग भेटेर उहाँहरूले अगाडि बढ्नुहोस्, सहयोग गर्छौं भन्नुभएको हो । निजी क्षेत्रबाट कृषि उत्पादन बढाउने धेरै कामहरू भएका छन् । सहकार्य गरेर कतिपय कामहरूलाई व्यवस्थित गर्दै जान्छौं । कृषिबाट असफल भएका मानिसहरू धेरै छन् । कृषिमा पर्याप्त लगानी नभएको र बजार प्रणालीको कारणले समस्या देखिएका छन् । तिनलाई समाधान गर्ने गरी बैंक स्थापना भएको छ, जसको कारणले गर्दा पनि कृषिको काम हामीले नगरिकन अरूले पत्याउँदैन । बैंकले काम गरेर देखाएपछि कृषिमा काम गर्ने सबै संघसंस्थालाई लिएर जाने गरी तयारी गरेका छन् । हामीसँग लामो समयदेखि कृषि क्षेत्रमा काम गरेका विज्ञहरूको अनुभव रहेकाले त्यसलाई परिचालन गरेर अगाडि बढ्छौं । भूमि बैंकले जग्गा उपलब्ध गराइदियो भने त्यसमा पनि सहकार्य गर्छौं । स्थानीय निकायसँग सहकार्य गरेर जग्गा लिन्छौं । तराईतिर नदी किनारामा धेरै तटबन्ध गरिएको जग्गा हुन्छ । ती जग्गामा खरबुजा लगाउँछौं । निजी–सरकारी सबैका बाँझा जग्गा भाडामा लिएर खेती गर्छौं ।

बैंकले १० वर्षभित्रमा खाद्यान्न उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने लक्ष्य राखेको छ । यो कत्तिको सम्भव हुन्छ ?
कतिपय कुरा अहिले आएको तथ्यांकले पनि बताउँदैन । १० वर्षभित्रमा जनसंख्या वृद्धिदर, खानेकुरामा ल्याउनुपर्ने परिवर्तन, रक्सीजाँड बनाउने ठाउँमा पनि अन्न बढी खपत भएको छ । यसमा कति खाद्यान्न खपत हुँदो रहेछ र त्यसको विकल्प के हुन्छ भनेर हामीले पनि अध्ययन गरिरहेका छौं । अहिले जति पनि आयात भएको अन्नबाली खानका लागि मात्र प्रयोग भएको छैन । नेपालीले वार्षिक रूपमा कति खाद्यान्न खान्छ भनेर राखिएको छ । त्यस तथ्यांकले पुग्छ कि पुग्दैन । तरकारी बालीको कुरा गर्ने हो भने । २०-२५ प्रतिशत तरकारी पाकेरै खेर जाने रहेछन् । कतिपय तरकारी नपाकेर खेर जाने रहेछ । त्यतिखेर जाने तरकारीलाई व्यवस्थित गर्दै जानुपर्छ । स्थानीय निकायको सहकार्यमा कृषिमा काम गर्ने सहकारी, किसान, कृषि कम्पनी, गैरसरकारी संघसंस्थालाई उत्पादनमा लगाउँछौं र ती उत्पादित वस्तुहरू बैंकले खरिद गर्छ । किसानहरूले पहिलाको जस्तो बजारको काम पनि आफैं गर्ने, प्राविधिक काम पनि आफैं, बीउबिजनको व्यवस्थापनको काम पनि आफंै गर्ने गर्नु पर्दैन । त्यो सबै काम व्यवस्थापन अब राष्ट्रिय खाद्य बैंकले गर्छ । विज्ञहरूले दिएको सल्लाह सुझावअनुसार उत्पादन हुन्छ । त्यति नै जग्गामा अहिलेको भन्दा दोब्बर उत्पादन बढ्छ । किसान पनि धनी बनाउन सकिन्छ ।

उत्पादन बढाउन आवश्यक पर्ने रासायनिक, मल, बीउ र प्रविधिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
बीउको हकमा खाद्य बैंकले उत्पादन गर्छ । बाहिरबाट बीउ खरिद गरेर ल्याएर आत्मनिर्भर बन्न सकिँदैन । अध्ययन गरेको ठाउँबाट बीउ उत्पादन गरेर किसानलाई दिन्छौं । किसानसँग मिलेर उत्पादनमा लाग्छौं । मलको हकमा रासायनिक मललाई त्यति प्राथमिकता दिँदैनौं । अहिलेको हकमा भने माटो बिग्रिसकेको हुनाले केही समयका लागि रासायनिक मल नहालिकन हुँदैन । थोरै मात्रामा रासायनिक मल हाल्छौं र बढी प्राङ्गारिक मल हाल्छौं । प्राङ्गारिक मल उत्पादन गर्न घरघरमा अभियानका रूपमा अगाडि बढाउँछौं । वातावरणमैत्री बन्नका लागि रासायनिक मलको प्रयोग कम गर्छौं । प्राविधिक ज्ञान र प्रविधि किसानलाई उपलब्ध गराउँछौं । देशभरिलाई पुग्ने गरी अन्नबाली उत्पादन गर्छौं । विस्तार गर्दै ७७ वटै जिल्लामा पुगेर व्यावसायिक रूपमा खाद्यान्न उत्पादनमा लाग्छौं । उत्पादन गरिएको खाद्यान्न सबै खाद्य बैंकले खरिद गरेर बिक्री–वितरण गर्छौं ।

साभार

सम्बन्धित पोस्टहरू