आवेदन फारम

२ अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना

  • Admin
  • २०७७ फाल्गुण १४
२ अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना

पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । बैंकले देशका ७७ जिल्ला, प्रदेशका साथै ७ सय ५३ वटै स्थानीय तहमा उपस्थिति जनाउँदै कृषि उत्पादन र बजारीकरणमा जोड दिने भएको छ । २ अर्ब लगानीमा स्थापना भएको बैकले क्रमशः उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अघि बढ्ने लक्ष्य लिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले हिमालय टाइम्सलाई बताउनुभयो । 

कृषि क्षेत्रमा ठूलो लगानी, रोजगारी बढाएर उत्पादन वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको सम्मृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सहयोग गर्ने, क्रमशः अर्गानिक उत्पादनमा जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सीप, बिउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिकलगायतको सहभागितामा बंैक स्थापना भएको बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिनुभएको हो ।

बैंक आफैले खाद्यन्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दही दूध, माछामासु, चिया, जडीबुटीलगायत उत्पादनका साथै कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानसमेत गन उहाँको भनाइ छ । 

देशैभरका किसानसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैंकले कृषि कम्पनी, कृषि सहकारी, कृषका समूह, कृषिसँगसम्बन्धी अन्य संघ सस्थासँग पनि सहकार्य गर्ने भएको छ । बैंकले सरकारी खाली जग्गा, सामुदायिक वनका खाली जग्गा, गुठी जग्गा, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादन गर्नेछ । बंैकले हालसम्म कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सालगायतका जिल्लामा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको अध्यक्ष उप्रेतीले बताउनुभएको छ । हालसम्म बैंकले बर्दियाको गुलेरिया नगरपालिका ३ खैरीलगायत बर्दियाका विभिन्न ठाउँमा २ सय बिघा जग्गा लिजमा लिइसकेको छ । सोही स्थानमा करिब ५ हजार बिघा किसानका जमिनमा सहकार्य गर्दै उत्पादन गर्ने भएको छ । त्यसैगरी झापा, मोरङ, सुनसरी जिल्लामा १ हजार ४१ बिघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमति भएको बताइएको छ । 

पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडीलगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोस्रो चरणमा माछा–मासु, फलफूल, दूध, तरकारीमा जोड दिनेछ । बैंकले खासगरी पाइलट प्रोजेक्टका रूपमा हरेक प्रदेश र जिल्लालाई कृषि उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्दै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरू उत्पादनको बजार सुनिश्चित गर्ने जनाएको छ ।

हालसम्म ५ सय ९१ जना प्रमोटर शेयर सदस्य रहेको बैंकले अझै विस्तार गर्दै निकट भविष्यमै साधारण शेयरसमेत जारी गर्ने अध्यक्ष उप्रेतीले हिमालय टाइम्सलाई बताउनुभयो । कृषिलाई पर्यटनसँग जोडेर एग्रो टुरिजमलाई पनि सँगै बढाउने उहाँको भनाइ छ । यही चैत १५ गतेभित्र बैंकको बानेश्वरस्थित केन्द्रीय कार्यालयको प्रधानमन्त्रीले उद्घाटन गर्ने र २०७८ वैशाखभित्र सबै प्रदेश कार्यालयको उद्घाटन गर्ने गरी तयारी भइरहेको बैंकले जनाएको छ । धानविज्ञ डा भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्ग भक्त पौडेल, वनस्पतीविज्ञ प्राडा. चन्द्रप्रकाश पोखरेल, गहुँ विज्ञ डा. मदन भट्ट, पशुपक्षीविज्ञ डा बलबहादुर चन्द, कृषिविज्ञ शिव यन्दोलगायतका विज्ञको सहभागिता रहेको बैंकमा १ सय ५० जनाभन्दा बढी कृषि, पोषण, वनस्पतिसँगसम्बन्धी विज्ञ संस्थापकका रूपमा रहेको बताइएको छ । साथै २ सयजना कृषि प्राविधिक बैंकमा संलग्नता रहेको बैंकले जनाएको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आएको बैंकले गुणस्तरयुक्त खाद्य सामग्रीलाई सुरक्षित भण्डारण गरी बैंकमार्फत आफ्नै सेल्स डिपो र होम डेलिभरी ई–कमर्शमार्फत बिक्री गरिने पनि बैंकले जनाएको छ ।

सम्बन्धित पोस्टहरू