आवेदन फारम

कृषि बाली नष्ट गर्दै आएको बाँदर

  • राष्ट्रिय खाद्य बैंक लिमिटेड
  • २०७९ भदौ ५
कृषि बाली नष्ट गर्दै आएको बाँदर

कृषि बालि नष्ट गर्दै आएको बाँदरको अनियन्त्रित अवस्थालाई रोक्न सक्ने उपायहरु

बिगत केहि बर्षयता नेपालको धेरै जसो पहाडी र तराईक जिल्लाहरुमा जंगली जनावर मानिने बाँदरको आतंक एकदम बढ्दो रहेको छ | कृषि बालि लगाइएका खेतहरूमा बाँदरको हुल आउने र बालि सखाप परेर जाने समस्यालाइ किसानहरुको मुख्य समस्या को रुपमा लिन सकिन्छ | देशमा विभिन्न जिल्लाका किसानहरुको खेतमा  बाँदरको टोलीले धान, गहुँ उखेल्ने र मकै मास्ने समस्यालाइ लिएर गुनासो रहेको पाइन्छ | सयौंको संख्यामा बाँदर खेतबारीमा पस्ने र लगाइएको तरकारीबालि, गहुँ, मकै एकै छिनमा सखाप पारिदिने गरेका छन् | ६०-७० % सम्म क्षति पुर्याउने किसानहरुको भनाइ छ | बाँदरले गर्दा केहि जिल्लामा खाद्यान्न अभाव र खाद्य असुरक्षाको समेत समस्या देखिएको छ | 

बाँदर धपाउन भनि किसानले विभिन्न तरिकाहरु अपनाउदै आएका छन्| उनीहरुले बारीमा मान्छेको जस्तो लुगा लगाएको बुख्याँचा राख्ने, गुलेली, ढुंगाले हान्ने, ताउला, गाग्री र थाल बजाएर धपाउने तथा अस्थायी टहरबाट दिन रात चौकीदारी दिने र स्थानिय सरकार बाट वितरण गरिएको बाँदर धपाउने मेसिन प्रयोग गर्दै आएका छन् | धपाउने क्रममा केहि किसानलाइ चोटपटक समेत लाग्ने गरेको छ र स्कूले बालबालिकाहरुले पढाई छोडेर समेत बारीको रेखदेख गर्ने गरेका छन् | यी तरिकाले केहि हदसम्म बाँदर भागे तापनि सबै तरिकाहरु अस्थायी भएकाले  पूर्णरुपमा भने किसानहरु बाँदर धपाउन असफल रहेका छन् |

बाँदरले खेतबारी नष्ट गर्दै आएको समस्या भएको बर्षौ बित्दा पनि स्थायी समाधान ननिस्किए पछि किसानहरु किसान पेशाबाटै बिस्थापित हुन पुगेका छन् | कोहि गाउँका किसानहरु सहर तिर बसाइ सराइ गरिरहेका छन् भने कोहिले बारी बाँझो नै राख्दै आएका छन् | 

बाँदर नियन्त्रण गर्न किसानले अपनाउन सक्ने केहि उपायहरु :

  • बाँदरले नोक्शान नगर्ने बालीको खेति गर्ने, जस्तै: अदुवा, बेसार, खुर्सानी, तोरी, फापर, जौ, कागती | केहि जिल्लाहरुमा किसानले बैकल्पिक बालीको रुपमा Dragon fruit को समेत खेति गर्दै आएका छन् जसबाट उनीहरुले राम्रै आम्दानी गर्दै आएका छन् |
  • खेतबारीमा तारबार लगाउने | प्लास्टिकको बार लगाउने वा bio-fencing को रुपमा काँडा हुने बिरुवा लगाउने जस्तै कागती, करौंजी आदि |
  • बाँदर धपाउने मेसिनको प्रयोग गर्ने, पटाकाहरू पड्काउने वा ठुलो आवाज आउने सोलार यन्त्रहरु बारीमा जडान गर्ने |
  • तरकारी बालिमा खुर्सानीको धुलो छर्कने | खुर्सानीमा हुने capsaicin नामक chemical ले बाँदर विरुद्ध बिकर्षक (repellent) को रुपमा काम गर्छ | किसानले खुर्सानीको खेति गर्दा पनि राम्रै आम्दानी हुने पाइन्छ |
  • गाईभैंसीको सुकेको गोबरमा खुर्सानीको धुलो मिसाएर जलाउदा ठुलो धुँवा गर्दा बाँदर खेतबारी बाट टाढा भाग्ने गर्दछन् |
  • राष्ट्रिय बालि प्रजनन् एवं आनुवंसिकी अनुसन्धान केन्द्रका बैज्ञानिक डा. उज्ज्वल कुशवाहले केहि दिन यता Tri-methyl Amine (TMA) नामक chemical ले बाँदर तथा निलगाई टाढा भाग्ने आफुले गरेको research बाट पुष्टि गरेका छन् | १५-२० ml जतिको यो chemical ले औसतमा १०-१५ दिन सम्म बाँदर भगाएको पाइएको छ | सडेको माछा जस्तै गनाउने यो chemical बारीमा राखिदिने हो भने बाँदर खेतमा नआउने पुष्टि गरेको छन् |
  • समस्या समाधानका लागि बन्ध्याकरण सबै भन्दा उत्तम प्रबिधि हुने विज्ञहरुको भनाइ रहेको छ |

सरकारले ‘बाँदर हेरालुको प्रबन्ध’ तथा ‘एक घर एक बाँदर’ जस्ता कार्यक्रम ल्याए तापनि त्यति प्राभाब्कारी नरहेको किसानहरुको भनाई रहेको छ | सरकारका नीतिनियमले किसानको समस्या सम्बोधन गर्न आवश्यक देखिन्छ | त्यसैगरि, सरकारले किसानलाई बाँदरले नष्ट गरेको बालिको क्षतिपूर्ति दिन तथा अनुदानको व्यवस्था गर्न आवश्यक देखिन्छ |