आवेदन फारम

खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक

  • Rastriya khadya bank
  • २०७७ फाल्गुण २२
खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक

निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैंकले खाद्यान्न उत्पादन गर्ने भएको छ ।
स्थानीय उत्पादनले माग धान्न नसकेर अर्बौं रुपैयाँको खाद्यान्न आयात भइरहेका बेला स्वदेशमै आत्मनिर्भर बन्नका लागि बैंकले खाद्यान्न उत्पादन गर्न लागेको हो ।
चालू आर्थिक वर्षको ७ महिनामा चामल, मकै, गहुँ, कोदोलगायत ४८ अर्बको खाद्यान्न आयात भएको सरकारी तथ्यांक छ ।
बढ्दो आयात कम गरी स्वदेशमै आत्मनिर्भर बन्न विभिन्न जिल्लामा जग्गा भाडामा लिई खेती गर्न लागिएको बैंकले जानकारी दिएको छ । बैंकले खाद्यान्न उत्पादन र भण्डारणका साथै बिक्री पनि गर्ने भएको छ । निजी क्षेत्रको दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंकको स्थापना भएको हो ।
राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बाँझो जग्गा भाडामा लिएर खाद्यान्नको उत्पादन गर्न लागिएको जानकारी दिए ।
बर्दियाका विभिन्न ठाउँमा दुई सय विघा जग्गा भाडामा लिइसकेको, मोरङ र सुनसरीमा एक हजार ४१ विघा तथा लमजुङमा पाँच सय ५० विघा जग्गा लिने तयारीमा रहेको उनले बताए । बैंक आफैंले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दही, माछा, मासु, चिया, जडिबुटी लगायत उत्पादन तथा व्यवस्थापन गर्ने बताएको छ । कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँअनुसारको बाली उत्पादनमा गर्ने प्रोत्साहन गर्ने उनको भनाइ छ । सातै प्रदेशमा पाइलट प्रोजेक्टका रुपमा सुरुवात गर्ने र सम्भावना हेरेर सोहीअनुसार उत्पादन गर्दै जाने बैंकले जानकारी दिएको छ ।
१५० भन्दा बढी कृषि विज्ञहरुको सहभागितामा चार महिनाअघि स्थापना भएको सो बैंकले अर्गानिक उत्पादनलाई पहिलो प्राथमिकता दिने जनाएको छ । बैंकसँग दुई सय जनाभन्दा बढी कृषि प्राविधिक संलग्न छन् ।
कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सीप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन गर्ने तथा दक्ष जनशक्तिको रुपमा विशेषज्ञ वैज्ञानिकको समेत सहभागितामा काम गर्ने बैंकले जनाएको छ ।
इको सिस्टमलाई संरक्षण गर्दै गुणस्तरको खाद्यान्न, तरकारी, फलफूल, जडिबुटी, चिया, कफी, अलैंचीलगायतको उत्पादन बढाएर विदेशमा समेत बिक्री गर्ने खाद्य बैंकको लक्ष्य छ । हाल बैंकले कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिजमा लिएर उत्पादन सुरु गरिसकेको छ । किसानहरुसँग पनि सहकार्य गर्दै उत्पादन बढाउने बैंकको योजना छ । पहिलो प्राथमिकता अन्नबालीलाई दिइने र दोस्रो चरणमा माछा, मासु, फलफूल, दूध, तरकारी उत्पादन गरिने बैंकले बताएको छ । बैंकले उत्पादनमा लागेका कृषकहरुलाई आवश्यक पर्ने बिउ, मल, कृषि औजार तथा प्राविधिक ज्ञान पनि उपलब्ध गराउनेछ । आगामी वैशाखभित्र सबै प्रदेशमा कार्यालय स्थापना गर्ने बैंकको तयारी छ ।
बैंकमा हालसम्म ४ सय ९१ जना संस्थापक सेयर सदस्य छन् । केही वर्षभित्रै साधारण सेयरसमेत जारी गर्ने बैंकको योजना छ । कृषि उत्पादनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू